सिन्धुपाल्चोकमा यस्तो गाउँ छ जहाँ साँझ परेसी युवाहरु कर्नल र शंख फुक्छन्

दिनेश दुलाल
भदौ १४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का वैकुण्ठ अर्यालको आजभोलीको दिनचर्य बिहान बाँदर लखेट्ने र साँझ परेसी कहिले कर्नल त कहिले शंख फुक्छन् । दलित समुदायले पञ्चे बाजामा बजाउने कर्नल बैकुण्ठल लगाएत युवाहरुले गाउँमा बजाउन थालेका छन् । साँझ परेसी शंख पनि एकोहोरो बज्न थाल्छ डडुवामा उनीहरुले फुक्ने कर्नल न उत्सवमा हो न अनिष्ट पर्दा बजाईने शंख । केबल यि दुवै बँदेल धपाउन प्रयोग गरिएका साधन हुन् । डडुवाको ठाँटी, रानीटार, असिने र झुलेटार लगाएत ठाउँमा बँदेलले बालीनाली नै सखाप पार्न थालेपछि स्थानीयले यो जुक्ती अपनाएका हुन् । सुरु सुरुमा एकोहोरो शंख बजाउँदा मान्छे मर्दा बजाएको जस्तो लागेपनि पछल्लो समय दैनिकी बजाउँदा बानी परिसकेको एक स्थानीयले सिन्धुज्वालाई बताए ।
शंख तथा कर्नल फुक्न युवाहरु भेषबहादुर खत्री, अर्जुन अधिकारी, धुब्र अधिकारी र धर्म नेपाल लगाएत संलग्न हुन्छन । उनीहरु पालैपालोसंग शंख र कर्नल फुकेर बँदेल लखेटेछन् । आजकाल मकै पाक्ने सिजन भएको हुनाले दिउस बाँदको आतंक र बेलुका बँदेलको आतंक खेप्नु परेको भेषबहादुरले बताए । उनका अनुसार बँदेलको हुल नै आउने हुनाले गाउँका सबै युवाहरु मिलेर दिउसो बाँदर र राती बँदेलको डिउटी बस्न परेको हो । वडाभरी नै बँदेल र बाँदरले जनताको बालीनाली तथा पशुपंछीलाई नै आक्रमण गर्न थालेको १४ नम्बर वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले बताए । उनका अनुसार दुई सातामा मात्रै बँदेलले एकदर्जन बाख्रा तथा एकसय भन्दा माथि कुखुरा मारिसकेको छ ।
बँदेल नियन्त्रको लागि वडाले कुनै कार्यक्रम नल्याएको भएपनि आगमी दिनमा नगर तथा बन कार्यालयमा पहल गरिने वडा श्रेष्ठले सिन्धुज्वालालाई बताए । बँदेलबाट क्षति भएका किसानहरुलाई नगरबाट नै राहत तथा क्षतिपूर्ति दिनपर्छ भनेर नगरमा कुरा भएको श्रेष्ठले जानकारी दिए ।

यसैबीच सोही वडाको डडुवामा कुखुरा फार्ममा पालेको कुखुरानै बँदेलले मार्न थालेको छ । जिल्लाको चौतारा सांगाचोकगढी नगरपालिका १४ नम्बर वडाको झुलेटार थलामुनी रहेको सिमन एण्ड सिजन कृषि तथा पोल्ट् िफार्ममा गएराति वदेलले १ सय ८६ वटा कुखुरा मारेको हो । झन्डै २ किलोका कुखुराहरु वदेलले मारेर मकै बारी, तरकारी बारी तथा जंगलमा यत्रतत्र फालेको अवस्थामा पाईएको संचालक अर्जुन अधिकारीले बताए । गएराती वदेलको बथान आएर फार्मको गाह्रो खन्दै जाली फुटाएका थियो । फार्ममा १ हजार १ सय कुखुरा रहेका थिए । जंगलको बिचमा युवाहरुले स्वरोजगारको बाटो उपनाउदै यहाँ कुखुरा ब्यवसायमा लगानी गरेका हुन् । झुलेटार थलामुनी अहिले धुर्व अधिकारीले संचालन गरेको अधिकारी कृषि तथा पोल्टि फर्म र बलराम अधिकारीले संचालन गरेको एलएक्स कृषि तथा पोल्टि फार्म पनि रहेका छन् ।
यसैबिच पछिल्लो समय जंगली बँदेलले रजाइ गर्न थाले पछि किसान चिन्तित भएका छन् ।जंगलबाट हुलमा आउने बदेलले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् । अघिल्लो वर्ष पनि अन्न सखाप पारेर सताएको बदेलले यो वर्ष पनि गत बैशाख महिनादेखि बालीमा बसेर अन्न खाइदिने र नष्ट पारिदिएपछि किसानहरु खाद्यान्न समस्या हुने भन्दै चिन्तित बनेका छन् । बाली भित्र्याउने समयमै बदेलले नष्ट गरिदिएपछि किसानहरु मर्कामा परेका छन् ।
यहिले सम्म नगर तथा वडाबाट बाँदर तथा बँदेल रोकथामको लागि कुनै पहल नभएको उनीहरुको गुनासो छ । बन्यजन्तुबाट भएको नोक्सानीलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।