विपदबाट नगरबासीलाई जोगाउन बाह्रबिसे नगरपालिकाको नयाँ रणनीति
दिनेश दुलाल
असार ३, बाह्रबिसे(सिन्धुपाल्चोक) । कोभिड–१९ का विरुद्व जुधिरहेको बाह्रबिसे नगरपालिकाले थप विपद्बाट नगरबासीको सुरक्षाको लागि नयाँ रणनीति अक्तियार गरेको छ । गत साल जिल्लाकै बाढीपहिरोबाट विक्षिप्त बनेको नगरपालिकाले यसपटक पनि बाढी पहिरो आउन सक्ने सम्भावित खतरालाई टार्न यस्तो रणनीति बनाईएको बाह्रबिसे नगरपालिकामा मेयर निमाफुञ्जो शेर्पाले सिन्धुज्वालाई जानकारी दिए । ‘गत साल भएको विपद्का घटनालाई मध्यनजर गर्दै व्यवस्थापनको पूर्व तयारी थालेका छौं’, मेयर शेर्पाले भने । उनका अनुसार नगरपालिकाले टेन्टको व्यवस्था, खाद्यन्नको व्यवस्था तथा औषधी उपचारको व्यवस्था मिलाएको हो । बालबालिकाको शिक्षा सञ्चालनको लागि समेत प्राविधिक विधिबाट थालिने उनले जानकारी दिए । कोभिडको संक्रमण नरोकिएपनि नयाँ ढंगबाट सञ्चालनको तयारी थालिएको उनले बताए ।
मेयर शेर्पाका अनुसार बाह्रबिसे नगरपालिकाले कोभिड १९ को महामारीलाई मध्यनजर गरि शैक्षिक वर्ष २०७८÷७९ को विद्यालय भर्ना गर्ने अभियानको सुरूवात गर्ने तयारीमा जुटेको हो । कोराना महामारीको समयमा कसरी बैकल्पिक माध्यमबाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा शिक्षाविद, विद्यालयका प्रअ, शिक्षा शाखाको संयुक्त बैठकबाट अनलाईन तथा भर्चुअल माध्यमबाट सुरू गर्ने निर्णय गरेको छ ।
२०७७ सालको बाढी पहिरोबाट बाह्रबिसे नगरपालिका अन्तरगतका विभिन्न वडाहरूमा कयौं बस्ती तथा घरपरिवारहरू विस्थापित भएको थियो । यसवर्ष मनसुनको प्रभाव उच्च दरमा बढिरहेको अवस्थालाई मध्यनजर गरि नगर भित्रका उच्च जोखिम बस्तीहरूलाई सुरक्षित ठाँउमा स्तान्तरण गर्नको लागि बाह्रबिसे नगरपालिकाले पूर्वतयारीको साथ प्रत्येक वडाहरूमा टेन्ट, त्रिपाल, शौचालय सहितको पूर्वधार व्यवस्थापन गर्ने कार्यको सुरूवात गरेको नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिनले बताईन ।
पाख्रिनकानका अनुसार बाह्रबिसे नगरपालिकाले नगर भित्रका सुत्केरी आमाहरूलाई पोषण खाधान्न सामग्रीहरू वितरण गर्न समेत सुरूवात गरेको छ ।
उक्त वितरण कार्यक्रममा उप प्रमुख, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा सुत्केरी आमाहरूलाई एक क्रेट अण्डा, चना, घिउ, आयोडिन नुन, नुहाउने र लुगाधुने साबुन उपलब्ध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिए ।
स्मरण रहोस गतसाल सिन्धुपाल्चोकमा बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति बाह्रबिसे नगरपालिकाले व्यहोरेको थियो ।