स्वास्थ्य कर्मीनै आंतकित हुनेगरी व्यक्तिगत कोठामा ड्रोन उडाईयो, बाह्रबिसे नगर पालिकाले निकाल्यो विज्ञप्ति

२३ जेठ, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कर्मीलाई नै आतंकित हुनेगरी व्यक्तिगत कोठामा ड्रोन उडाईएको घटनाले यतिबेला चर्चा पाएको छ । शनिबार भएको उक्त घटनामा कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको संलग्नता रहेको भन्दै उक्त घटनालाई नगरपालिकाले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ती जनाएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफञ्जो शेर्पाले कोभिडका संक्रमित उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई नेपाली कांगेसका एक क्षेत्रीय नेताले आतंकित पार्न खोजेको आरोप लगाएका छन् । अस्पताललाई आतंकित र कर्मचारीलाई थर्काएर मनोबल गिराउने काम गर्नु निन्दनीय भएको मेयर शेर्पाको भनाई छ । आफु नगरपालिकाको प्रमुख रहेर सबै जिम्मेवारी हुँदा हुँदै आफुसंग सरसल्लाह गर्न नआई अस्पतालमा पुगेर अवान्छित गतिविधि गर्नु गलत भएको उनको तर्क छ । यस अघि पनि बस्नेतकै नेतृत्वमा विदाको समय पारेर कार्यालय तोडफोड गरिएको उनले आरोप लगाए ।

नेपाली कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति समेत रहेका बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेका स्वास्थ्यकर्मीलाई हतोत्साहित बनाउन खोजिएको मेयर शेर्पाको भनाई छ । मेयर शेर्पाले प्रेस विज्ञप्ति नै जारी गरेर बस्नेतको नेतृत्वमा महिला स्वास्थ्यकर्मी रहेको आवासका कक्षहरुको झ्यालहरुमा ड्रोन समेत उडाएर अस्पतल क्षेत्रलाई आतंकित गर्न खोजिएको उल्लेख गरेका छन् ।
मेयर शेर्पाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘ बाह्रसिेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विरामी तथा स्वास्थ्यकर्मीहरुमा आतंक सिर्जना गर्ने गरी शनिबारका दिन भएका हर्कतहरु प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ ।’ प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरुको उपचारर्थ खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल हतोत्साहित हुने खालका अभिव्यक्ति दिईएको फोटो तथा भिडियो नखिच्न अनुरोध गर्दा जर्वजस्त फोटो तथा भिडियो खिचेर आतंक पार्न खोजिएको मेयर शेर्पाले उल्लेख गरेका छन् । मेयर शेर्पाले जारी गरिएको विज्ञप्तिमा जनाईए अनुसार क्षेत्रीय नेता बस्नेतले बा १३ च ७८८५ को स्कारपियो गाडी अस्पताल परिसरमा लगेका थिए । नगरपालिकाले स्वास्थ्यकर्मीको मनोबल गिराउने गरी भएका क्रियाकलापमा संलग्नलाई कानुनको दायरामा ल्याई कारवाही समेत माग गरेको छ ।
स्वास्थ्यकर्मी अस्पतालको छतमा रहेको अवस्थामा एक्कासी ड्रोन आएपछि प्राथमिक स्वास्थ्यकेन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु आतंकित भएका थिए ।
‘हामी महिला स्वास्थ्य कर्मी रहेको व्यक्ति कोठामा यसरी अचानक ड्रोन पठाईयो’, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रकी मेडिकल ईन्चार्ज डा. अनुपमा थापाले भनिन् । उनका अनुसार अस्पतालको तेस्रो र चौथो तलामा ड्रोन पठाईएको थियो । डा. अनुपमा कोभिड संक्रमित भएर होम आईसोलेसनमा रहेकी छिन् । ड्रोन मार्फत भिडियो कस्कोे अनुमतिले खिचियो भन्दा ‘हामीसंग भिडियो खिच्ने लाईसेन्स छ’ भन्ने जवाफ आएको उनले बताईन । भिडियो डिलिट गरिदिनु भनेर आग्रह गर्दा भिडियो डिलिट हुँदैन विरामीको अवस्था हेरेर मात्र गरिने जवाफ आएको उनले बताईन । उक्त घटनाको सन्दर्भमा आफुहरुले दोषीलाई कानुनी कारवाहीको लागि प्रहरीमा उजुरी गरिसकिएको उनले बताईन । ‘उहाँलाई समस्या परेका खण्डमा म ईन्चार्ज भएको हुँनाले फोन गरेर बुझेको भए हुने कुरा थियो’ अनुपमाले भनिन, ‘हामीले संक्रमितहरको रातादिन नभनी उपचारमा खटिएका छौ । यस्तो बेलामा हाम्रो मनोबल गिराउने काम भयो ।’
उनका अनुसार महिला स्वास्थ्यकर्मी बसेको ठाउँमा किन ड्रोन उडाइयो भनेर बुझ्दा स्वास्थ्यकर्मी सबै जना छतमा बसेर तल कोही नआएर उडाईएको भन्ने जवाफ नेता बस्नेतले दिएका थिए । शनिबार सबैको डिउटी नभएर एकजनाको मात्रै डिउटी भएको अनुपमाले बताईन ।
उक्त घटनाको सन्दर्भमा आफुले जानकारी पाई सकेको प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले सिन्धुज्वालालाई बताए । ‘यो घटना गम्भिर देखियो, कानुन अनुसारको कारबाही हुन्छ’, प्रजिअ पोखरेलले भने ।
नेपाली कांग्रेसका क्षेत्रीय नेता बस्नेतले भने उक्त घटना हुनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । ‘हामी एकजना विरामी लिएर उपचारको लागि त्याहाँ पुगेका थियौं, अस्पतालमा कोही पनि स्वास्थ्यकर्मी नभएपछि खोजिनिती गर्दा उहाँहरु छतमा हुनुहुँदो रहेछ’, नेता बस्नेतले भने । आफ्नो निर्देशनमा ड्रोन नउडाईएको उनले जिकिर गरे ।

यस्तो छ प्रेस वक्तव्य