जिल्लाकै नमुना हेलम्बुको वर्थिङ सेन्टर, सुत्केरीलाई घरमै जाँच र निशुल्कःएम्बुलेन्स सेवा

दिनेश दुलाल
चैत्र २१, किउल (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिका–३,पाल्चोक घ्याङकी ३२ वर्षीय सुनिता लामालाई सुत्केरी हुँदाको लामो प्रसव वेदना सहन परेन । किनकी उनलाई लिन घरमै एम्बुलेन्स पुग्यो र केही समयमा उनले छोरो जन्माईन । चनौटे बजार भन्दा माथि माहाँकालमा रहेको ईचोक स्वास्थ्य चौकी (वर्थिङ सेन्टर) आईपुग्न पाल्चोक घ्याङबाट उनलाई मुश्किलले ४ घण्टा पैदल हिड्न पथ्र्यो । तर गाउँपालिकाले व्यवस्था गरेको एम्बुलेन्सबाट एकघण्टामै वर्थिङ सेन्टर आईपुगिन । उनले एम्बुलेन्सको भाडा समेत तिर्नु परेन । बरु सरकारले सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउन दिने ३ हजार माथि गाउँपालिकाले ३ हजार थप गरेर ६ हजार प्राप्त गरिन । वर्थिङ सेन्टरमा राखेको एकदिन पछि सोही एम्बेलेन्स मार्फत उनी सजिलै आफ्नै घरमै पुगिन । गाउँपालिकाले गरेको सेवाप्रति सुनिता निकै खुशी छिन् । उनका श्रीमान पेम्बाडेण्डु लामा समेत खुशी छन् । हेलम्बु गाउँपालिकाले सुत्केरी आमाहरुलाई राम्रो व्यवस्था गरेको उनले बताए । ‘पहिला त सुत्केरी गराउन काठमाडौं पुग्न पथ्र्यो, अहिले पालिकामै राम्रो व्यवस्था छ’, पेम्बाडेण्डुले उत्साहित हुँदै भने ।

बच्चा जन्मिएको ३ दिन भित्र दिईने खोप समेत स्वास्थ्यकर्मी घरमै आउने गरेको उनले सुनाए । पालिकाले स्थापना गरेको ईचोक वर्थिङ सेन्टरमा साउन यता मात्रै १ सय ३१ जनाको सुत्केरी गराईएको ईचोक स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी (अनमी) सरिता खनालले बताईन । उक्त वर्थिङ सेन्टरमा सुत्केरीको लागि सबै व्यवस्था हुनुकको साथै एकजना कुरुवालाई समेत खान र बस्नको लागि व्यवस्था गरिएको उनले सुनाईन ।

सुत्केरी आमाहरुको दहेनीय अवस्था देखेर गाउँपालिकामा वर्थिङ सेन्टर मार्फत स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाईएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सिन्धुज्वालालाई बताए । ‘हामी स्वास्थ्य क्षेत्रलाई आमुल परिवर्तन गराउने छौं’, पालिका अध्यक्ष शेर्पाले भने । सुत्केरी आमाहरुको स्वास्थ्य प्रति केन्द्रीय सरकार संवेदनशिल नभएपनि स्थानीय सरकार जिम्मेवार बनेर लागेको उनको तर्क छ । ‘दुर्गम ठाउँबाट ३ दिनको सुत्केरी बच्चालाई खोप लगाउन ४ घण्टा हिडेर कसरी वर्थिङ सेन्टर आईपुग्छन् ?’ प्रश्न गर्दै अध्यक्ष शेर्पाले भने । सोही अवस्थालाई मध्येनजर गरेर वर्थिङ सेन्टरलाई प्रभावकारी बनाईएको उनको तर्क छ । सुत्केरी आमाहरुको हेरचाह लगाएत स्वास्थ्य क्षेत्रमा हेलम्बु जिल्लाकै उत्कृष्ट रहेको समेत उनले दावी गरे । गाउँपालिकाले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा मार्फत थप तीनहजार उपलब्ध गराईएको, निशुल्क एम्बुलेन्स सेवा तथा घर घरमै पुगेर स्वास्थ्य जाँच लिने गरिएको उनले बताए ।
उनका अनुसार गाउँपालिकामा माहांकाल र सिरिसेमा गरी दुईवटा वर्थिङ सेन्टर कायम रहेको छ । वर्थिङ सेन्टरको भरपर्दो सेवाप्रति जनताको विश्वास बढेपछि सुत्केरी गराउन आउने महिलाहरुको चाप बढेको समेत उनले बताए ।
सुत्केरी वेथा लागेर आपतकालिन अवस्थाका महिलाहरुलाई सरकारले उपलब्ध गराउने भनिएको हेलिकप्टेर व्यवस्था समेत ढिलो र कानुनी झन्झटिलो भएपछि पालिकाले नै आफैंले खर्च गरेर तुरुन्त काठमाडौं पु¥याउने गरिएको निमाको भनाई छ । स्वास्थ्य क्षेत्रमा हेलम्बु गाउँपालिकाको प्रभावकारी काम देखेपछि स्थानीय अन्य पालिकाले समेत सकरात्मक प्रभाव परेको हेलम्बुका स्थानीय बताउँछन् ।