पाँचपोखरी थाङपाल गाउँपालिकामा सतप्रतिशत योजना सम्झौता

दिनेश दुलाल
चैत्र १७, थाङपालधाप (सिन्धुपाल्चोक) । जिल्लाको पाँचपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को सत प्रतिशत योजना सम्झौता भएको जनाएको छ ।
गाउँपालिकाको उपभोक्ता मार्फत गरिने योजनामा यस वर्ष सतप्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार नेपाल सरकारको गाउँपालिकालाई प्राप्त स्विकृत बजेटबाट सतप्रतिशत उपभोक्ता मार्फत सम्झौता भएको हो ।
‘स्थानीय स्तरमा खर्च गर्न बजेट उपभोक्ता मार्फत सतप्रतिशत सम्पन्न गरेका छौं’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने । उपभोक्ता संग गरिएको सम्झौता पछि ६५ प्रतिशत काम समेत सम्पन्न भएको उनले बताए । जेठ मसान्त मै कार्यान्वयन सम्पन्न र भुक्तानी भईसक्ने समेत उनले बताए ।
उनका अनुसार पालिकाले उपभोक्ता मार्फत गरिने योजनामा ५ लाख भन्दा माथि मात्रै रहेको छ । उपभोक्तालाई डोर हाजिर मार्फत भुक्तानी दिने शिष्टमलाई परिमार्जन गरी प्रत्येक उपभोक्ताको बैंक खाता अनिवार्य शर्त राखेको उनले बताए । त्यस्तै प्रत्येक उपभोक्ताहरुको बैंक खाता र अभिमूखिकरण तालिम प्रदान गरिएको समेत उनले बताए ।
पालिका भित्र संघ तथा प्रदेशबाट आएको पालिका भवन, स्वास्थ्य, खानेपानी तथा सिंचाई लगाएत पूर्वाधारका ठूला योजना समेत धमाधम निर्माणको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।
उनका अनुसार पालिकाको ९ करोडमा लागत प्रशासनिक भवन निर्माणको चरणमा छ । त्यस्तै ६ करोड लागतमा निर्माणधिन तिपेनी स्वास्थ्यचौकी भवन निमार्णको अन्तिम चरणमा रहेको समेत निरौलाले जानकारी दिए । त्यस्तै खानेपानी तथा सिंचाईका आयोजनाहरु समेत धमाधम निर्माणको चरणमा छ ।