कोभिड–१९ खोप लगाउन सुरू, सिन्धुपाल्चोकमा पहिलो दिन २० ले लगाए


माघ १५, चौतारा (सिन्धुपाल्चोक) । कोभिड–१९ विरुद्वको खोप लगाउन सरकारले देशैभर हिजोबाट सुरुवात गरेको छ । सोही अनुसार सिन्धुपाल्चोक जिल्लामा पनि कोरोना बिरूद्धको खोप लगाउन सुरू गरिएको छ । बुधबार जिल्लामा १० स्वास्थ्यकर्मी र शव व्यवस्थापनमा संलग्न १० नेपाली सेनाको टोलीले खोप लगाएका छन् ।

पहिलो चरणमा सिन्धुपाल्चोकमा एक हजार सात सय ८० खोप आएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार स्वास्थ्य कार्यालयको एक हजार पाँच सय ८३ लाई खोप लगाईने लक्ष्य रहेको छ । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ स्वयमसेविका, एम्बुलेन्सका चालकलाई यो खोप लगाईने छ । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे र चौताराबाट खोप लगाईने उनले बताए ।

भारत सरकारले नेपालका लागि पठाएको १० लाख खोपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्मरण रहोस ३ महिना भित्रमा सबै नेपालीलाई कोरोना विरुद्वको खोप लगाईसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।