सुधारिंदै तातोपानी भन्सार, नाकालाई व्यवसायी र जनमैत्री बनाउन जोड (फोटोफिचर सहित)

माघ १४, तातोपानी (सिन्धुपाल्चोक) । तातोपानी भन्सार कार्यालयले ६९ औं अन्र्तराष्ट्रिय भन्सार दिवस मनाएको छ ।
वर्षेनी मनाईदै आएको अन्र्तराष्ट्रिय भन्सार दिवसलाई तातोपानी भन्सार कार्यालयले विविध कार्यक्रम गरी मंगलबार मनाएको हो । व्याडमेन्टिङ तथा म्याराथुन प्रतियोगिता समेत आायोजना गरेर सुरुवात गरिएको औपचारिक कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले पहिलाको तुलानामा भन्सारको प्रशासनिक क्षेत्र सुधारिएको बताउँदै नाकालाई अझै व्यवसायी र जनमैत्री बनाउन पर्ने बताएका छन् ।

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले कर्मचारीमा कुनै गुटबन्दी र पक्षपात नभएको प्रति प्रशन्नता व्यक्त गर्दै भन्सार पछिल्लो समय निकै व्यवस्थित हुन सकेकोमा धन्यवाद दिए । ‘भन्सार प्रमुखले भन्सार व्यवस्थापन कसैलाई पक्षपात नहुनेगरी बनाउनु भएको छ यो निकै सह्रानीय कुरा हो’, मेयर शेर्पाले भने । भन्सारको नयाँ शिष्टमलाई नयाँ कुनै प्रमुख आएपनि बदल्न नसक्ने उनले ठोकुवा गरे । सामाग्री अभावमा स्थानीय बजार सुकेको प्रति लक्षित गर्दै मेयर शेर्पाले व्यवसायीहरुले भन्सार गरेको सामग्री सबै काठमाडौंमा मात्रै केन्द्रित नगरी स्थानीय बजारहरुको आपर्ति समेत पुरा गरिदिन आग्रह गरे ।

कार्यक्रममा भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले देशकै प्रमुख स्रोतको रुपमा रहेको नाकालाई स्थानीय सरकारले पहल गरेपनि माथिल्लो निकायबाटै विशेष प्राथमिकता हुन पर्ने धारणा राखे । कार्यक्रममा सिन्धुपाल्चोक उद्योगवाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले तातोपानी भन्सार कार्यालय लाखौं मजुर तथा व्यवसायीहरुको रोजीरोटीको रुपमा रहेपनि विभिन्न प्राकृतिक प्रोकोपका कारण तहसनहस भएको बताउँदै त्यसको पुर्नस्थापना सबैभन्दा चुनौति रहेको धारणा राखे । तातोपानी नाकाको सन्र्दभमा राज्यको ध्यान जानुपर्ने धारणा औल्याए ।

कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नाकाको निरन्तर सुचारु, विकास र स्थानीय मान्छेलाई रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने कुरा सोच्न पर्ने बताए । राजनैतिक दल देखि सरकारी उच्च कर्मचारी लगाएत सबैको दायित्व रहेको बताए । नाकामा चुस्त र दुरुस्त शान्ती सुरक्षा लगाएत विषयमा जिल्ला प्रशासन कार्यालयको भूमिका रहेको उनले प्रतिवद्वता जनाए ।

कार्यक्रममा प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले तातोपानी नाका सुचारु भएयता भएका सुधारका प्रयासका सन्र्दभमा कार्यालयको तर्फबाट प्रस्तुती दिएका थिए । प्रस्तुतका क्रममा भन्सार प्रमुख खत्रीले भन्सारलाई सुधारको बाटोमा लैजाने प्रयास आफुले थालेको बताए । ‘भन्सारलाई सुधार गर्न विगतमा प्रयास के भए ? वर्तमान अवस्था कस्तो छ र भोली के गर्नुपर्ने हो त्यसको समिक्षा गर्दै अगाडि बढेका छौं’, भन्सार प्रमुख खत्रीले प्रस्तुतीको क्रममा भने । भन्सारको सुधारका लागि राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहयोग निकै रहेको उनले बताए ।

यसैबीच अन्र्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालयले आयोजना गरेको म्याराथुन प्रतियोगितामा फ्रेन्स युवाक्लव भोटेकोशी–३ का कुमार तामाङ पहिलो र सोहीका शिव पौडेल द्वितीय भएका छन् । यस्तै लोडरसंघको तर्फबाट जितलाल श्रेष्ठले तृतीय स्थान हाँसिल गरेका छन् । ५० जना भन्दा माथि सहभागी म्याराथुन प्रतियोगिता पुरानो तातोपानी भन्सार कार्यालयको गेटबाट लार्चा सुख्खा बन्दरगाहसम्म गरिएको थियो । प्रथम, द्वीतीय र तृतीय हुने खेलाडीलाई नगद तथा ट्रफिद्वारा सम्मान गरिएको थियो । त्यस्तै अर्को भएको व्याडमेन्टिङ प्रतियोगितामा लाक्पा शेर्पा र अनिल शेर्पा प्रथम भएका छन् । द्वितिय भने उद्योगवाणिज्य संघको तर्फबाट दिनेश थापा र ध्रुव खड्का भएका थिए ।
कार्यक्रमको सहजीकरण व्यवसायी संस्था शिल्क कम्पनीले गरेको थियो । शिल्क कम्पनी तातोपानी नाकाको सबैभन्दा ठूलो व्यापारी संस्था हो । सामाग्री आयतमा सबैभन्दा बढी राजश्व तिर्ने शिल्क नै अहिलेसम्म दर्ज रहेको छ ।
भन्सार दिवसकै अवसरमा कार्यालयले उत्कृष्ट काम गरेको भन्दै विभिन्न कर्मचारी तथा व्यवसायिक संघसंस्थाहरुलाई सम्मान गरेको थियो ।
यसैबीच तातोपानी भन्सार कार्यालयले यो वर्ष ३९ करोड १३ लाख राजश्व संकलन गर्न सफल भएको छ । बाढी पहिरो तथा कोरोना माहामारीको कारण पटक पटक नाका बन्द हुँदा पनि उक्त मात्रामा राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीको कथन छ । उनका अनुसार यो बर्षको साउनमा ३ करोड, भदौमा एक करोड ३१ लाख, असोजमा १ करोड ४९ लाख, कार्तकमा २ करोड ८५ लाख, मंसिरमा ८ करोड ३२ लाख र पुषमा २१ करोड ६७ लाख संकलन भएको थियो । उनका अनुसार राजश्व संकलन लालाखाला ६ करोड ३० लाख देखिन्छ । उच्चतम ३० करोड हुन सक्ने अनुमान गरिएको उनले बताए । २० तारिकमा सबै भन्दा अहिले सम्मै उच्च राजश्व संकलन भएको उनले बताए ।