सिन्धुपाल्चोकमा स्वाब संकलन गरिएका ५४ जनाको रिपोर्ट नेगेटिभ

जेठ ६, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे लगाएत स्थानमा आईतबार नमुना संकलन गरिएको स्वाब परिक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ । ५६ जनाको नमुना स्वाब संकलन गरिएकोमा ५४ जनाको नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई बताए । ‘५४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ’, जनस्वास्थ्य प्रमुख चापागाईले भने ।

बाँकी दुईजनाको भने स्वाब संकलन गर्दा त्रुटी भएपछि पुनः संकलन गर्नुपर्ने भएको उनले जानकारी दिए ।
कोरोनाकै कारण धुलिखेलमा एक महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका एक सय ८८ स्वाब नमुना संकलन गरिएको छ । चालकदेखि, छिमेकी, स्थानीय र स्वास्थ्यकर्मीसहित सो संख्यामा स्वाब संकलन गरिएको हो । संक्रमण फैलन नदिन उनको घर गाउँमा कन्ट्राक्ट टे«सिङ गर्दै स्वाब नमूना संकलन गरिएको थियो । आईतबारको रिपोर्ट आएसंगै सोमबार र मंगलबारको पनि क्रमशः रिपोर्ट आउने जिल्ला जनस्वास्थ्य प्रमुख चापागाईले बताए । आईतबार, सोमबार र मंगलबार गरी मृतक महिलाको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेको बलेफी गाउँपालिका–७ र ८ शुक्रबारदेखि सिल गरिएको थियो भने सम्पर्कमा रहेका सो संख्यामा स्वाब संकलन गरिएको थियो ।
आइतबारदेखिदेखि त्यहाँ स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल, विश्व स्वास्थ्य संगठनको समूह र बागमती प्रदेश सरकारको बिज्ञ चिकित्सकसहितको संयूक्त टोलीले काम गरेका थिए । मृतकको घर रहेको राम्चे गाउँका मात्र एक सय दुई जनाको स्वाब संकलन गरिएको थियो ।
त्यस्तै सोमबारै बाह्रविसे प्राथमिक स्वास्थ्य केन्दका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र मृतकको सम्पर्कमा रहेका अन्यसहित थप ८६ जनाको स्वाब संकलन गरिएको थियो ।