झरीको प्रवाहा नगरी आखिर बजारको अवरोध हटाई छाडे मेयर शेर्पाले

माघ ३, बाह्रबिसे (सिन्धुपाल्चोक) । झम–झम माघे झरी परिरहेको थियो । बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा झरीको प्रवाहा नगरी छाता ओढेर बिहान ७ नबज्दै बजारमा निस्किए । उनी निस्किए पछि उनलाई साथ दिन युवाहरु समेत ताँती लागे । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरप्रहरी तम्तयार भईसकेका थिए । महिनौ दिन अघि बजारको अवरोध हटाउन नगरपालिकाले गरेको आग्रहलाई बजारका केही स्थानीयले अटेर गरेपछि योजना सफल हुन सकेको थिएन । जिल्लाको महत्वपूर्ण व्यापारी नाका बाह्रबिसे बजार स्थानीय व्यापारीहरुले सडक नै मिचेर टहरा बनाउने तथा व्यापारी प्रयोजनका सामग्रीहरु राखेपछि बजार कुरुप बन्दै गईरहेको थियो ।

चाईना नजिकको यति ठूलो बजार कुरुप बन्दै गएपछि मेयर शेर्पा निकै चिन्तित थिए । यो अस्तव्यस्तताई अन्त्य गर्न उनले हर कोशिस गरे तर उनी सफल हुन सकेनन् । उनको लोकप्रियता बढ्न थालेपछि त्यसलाई कम गर्न सोही वडाका वडाअध्यक्ष र केही व्यक्तिहरुका कारणनै वाधक बनेको बजारकै एक युवाले सिन्धुज्वालालाई बताए । नीति र शिद्वान्तमा दृढ रहेका मेयर शेर्पाले जसरी पनि बजारलाई सुन्दर बनाई छाड्ने अठोट लिए । त्यसपछि केही साता अघि बाह्रबिसे नगरपालिका र जिल्ला प्रशासन कार्यालयले बजारको संयुक्त रुपमा अनुगमन ग¥यो । उक्त अनुगमनले बजार तथा व्यवसायीहरुलाई आफैं अवरोध हटाउन एकहप्ताको समय तोक्यो तर माघ २ गते सम्म स्थानीयले चासो नदिएपछि नगरपालिकाको अगुवाईमा आज बिहान ८ बजे देखि जेसिभि लगाएरै अवरोध हटाईएको थियो ।

केही ठाउँमा सामन्य झडपको स्थिति रहेपनि अन्ततः मेयर शेर्पा बजारको अवरोध हटाउन सफल रहे । नगरको पटक–पटकको निर्णयलाई व्यवसायीहरुले अटेर गरेपछि नगरपालिकाले यो कदम चाल्नुपरेको मेयर शेर्पाले बताए । ’अवरोध हटाउन लाग्दा केही ठाउँमा झडपको स्थिति रहेपनि आखिर सफल गरिछाड्यौं’, मेयर शेर्पाले भने । मेयर शेर्पाका अनुसार बजारमा झण्डै एकसयको हाराहरीमा सडक मिचेर मनाईएका टहरा तथा अवरोध हटाईएको थियो । बजारबासीहरुलाई समेत राखेर व्यापक छलफल पछि अवरोध हटाउने भनिएपनि कार्यान्वयन हुन नसक्दा आफैं कार्यन्वयन गर्न लाग्नु परेको मेयर शेर्पाले सुनाए । उनका अनुसार पहिलोपटक नगरपालिकाले बजारबासीसंग भएको छलफलमा समजदारी पछि बजारको अव्यवस्थित टहरा, सामान तथा पार्किङ गरिएका गाडीहरु हटाउने निर्णय भएको थियो । त्यस्तै बाह्रबिसे नगरपालिकाको कार्यपालिकाले नै निर्णय गरेर हटाउने प्रस्ताव पास गरेको थियो । यसरी पटक–पटक सूचना, माइकिङ गरेर समयमीमा तोकेपनि केही व्यापारीले अटेर गरेका थिए ।

पूर्व निर्णय अनुसार नगरपालिका, प्रशासन, स्थानीयको समन्वयमा आज नगर प्रमुख शेर्पाको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, जनपथ, सशस्त्र र स्थानीयको साथमा साथ अवरोध हटाईएको हो । अवरोध हटाउन एउटा जेसिभि, एउटा लोडर र चारवटा टिपर प्रयोग गरिएको मेयर शेर्पाले जानकारी दिए ।
उक्त अवरोध हटाउन दिउसो ३ बजे सम्म लागेको थियो । अवरोध हटाएपछि मेयर शेर्पाले बजारमा सडकनै अवरोध गरेर बनाईएका अस्थायी संरचना हटाएर नमुना बजार बनाउने अभियानमा साथ दिने सबैलाई उनले धन्यवाद दिए ।