सवारी साधन रोकेर सडकै आँखा शिविर, एकैदिनमा ११६ सवारी चालकको जाँच

दिनेश दुलाल
पुष ४, बन्देउ (सिन्धुपाल्चोक) । अरनिको यातायात कम्पनी अन्र्तगत बाह्रबिसे–काठमाडौं सञ्चालन हुने बा २ ख ७२४० नम्बरका बस चालक मानबहादुर कार्की यात्रु लिएर बाह्रबिसे हुँईकिदै थिए । उनी बन्देउ कट्न नपाउँदै एक ट्राफिक प्रहरीले एक्कासी बस रोके । त्यसपछि ट्राफिक प्रहरीले नरम बोलीका साथ चालक कार्कीलाई तल ओर्लन आग्रह गरे र सरासर आँखा जाँच गर्ने ठाउँमा उनलाई लगे । संधै सवारी साधन जाँच गर्ने पोष्ट भन्दा झण्डै २ सय मिटर यता बन्देउ डाँडामा सवारीका ताँती अनी सवारी चालकको जाँच गर्न लागेको देखेर चालक कार्की भने छक्क परे । उनलाई तिलगंगा आँखा प्रतिष्ठानबाट आएका डाक्टरले आँखा जाँच गरे र अगाडिको अक्षर पढ्न भने । उनले एउटा आँखा छोपेर फ्याल्क्स वोर्डमा झुण्ड्याईको अक्षर फटाफट पढे । फेरी उनलाई पल्लोतिर टेन्टमा बसेका डाक्टरद्वारा यसैगरी आँखाको जाँच गरियो । यसरी प्रहरीको थप परामर्श पछि आफुले चलाएको यात्रुबाहक बस लिएर उनी बाह्रबिसे हुँइकिए ।

माथि उल्लेखित प्रसंग आज विहान ९ बजे बन्देउ डाँडामा भएको आँखा शिविरको दृश्य हो । सवारी दुर्घटनालाई न्युनिकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सवारी चालकहरुको दृष्टि तथा कलर भिजन परिक्षण गरेको छ । अरनिको रुटलाई मध्यनजर गर्दै प्रहरीले शुक्रबार साना ठूला सवारी चालकहरुको आँखा परिक्षण तथा परामर्श गरेको हो ।

तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र चौताराले प्रदान गरेको निशुल्क आखाँ शिविरमा १ सय १६ जना सवारी चालकको आँखा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सिन्धुज्वालालाई बताए । जाँचका क्रममा केही चालकमा आँखामा समस्या भएको समेत उनले बताए । पछिल्लोपटक सिन्धुपाल्चोकमा भएका ठूलठूला सवारी दुर्घटना हुनुको एउटा कारण सवारी चालकको दृष्टि तथा कलर भिजनमा समस्या हुनसक्ने भन्दै बन्देउमा आँखा शिविर आयोजना गरिएको प्रहरी उपरिक्षक महर्जनले प्रष्ट पारे ।

’सवारी दुर्घटनाको अन्य कारण जस्तै चालकहरुमा दृष्टिको पनि समस्या हुनसक्ने भएकाले आँखा शिविर आयोजना गरेका हौं‘, प्रहरी उपरिक्षक महर्जनले भने । एकदिने निशुल्क आँखा शिविर संगै सवारी चालक तथा यात्रुहरुलाई सुरक्षित यात्राको लागि अपनाउनु पर्ने सावधानहरुमा समेत परामर्श गरिएको उनले बताए । उक्त रुटमा एकसाता भित्रमा मादक पदार्थ सेवन गरेको परिक्षण गर्ने उपकरण समेत राख्न लागिएको एसपी महर्जनले जानकारी दिए । दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही तथा यात्रुका जिद्दीका कारण समेत भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रजिअ रामकृष्ण घिमिरेले बताए । त्यस्तै चौतारा साँगाचोकगढ नगरपालिकाका ११ नम्बर वडा अध्यक्ष शुशिल माझीले उक्त निशुल्क आँखा शिविरले सवारीचालकहरुमा सचेतना जगाएको प्रतिक्रिया दिए । कार्यक्रममा जिल्ला शसस्त्र प्रहरी बलका प्रमुख, स्थानीय जनप्रतिनिधी लगाएत सहभागी थिए । निशुल्क गरिएको आँखा शिविर तथा प्रहरीको सुरक्षा यात्रा सम्बन्धी परामर्शले आफुलाई नयाँ चेतना जागृति गराएको सवारी चालक कार्कीले प्रतिक्रिया दिए । शिविर बिहान ९ बजेबाट दिउसो ४ वजे सम्म चलेको थियो ।