बलेफी गाउँपालिकाको ४ नम्वर वडा कार्यालय भवन उद्घाटन

सिन्धुपाल्चोक ( स्थानीय तह निर्वाचन पछि बलेफी गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न भवन पाएको छ । वडा कार्यालयको भवन निर्माण गर्ने उक्त वडा जिल्लाकै पहिलो वडा बन्न पुगेको छ ।नवनिर्मित उक्त भवनको पूर्वमन्त्री एवम् १ नम्बर क्षेत्रका प्रतिनिधि सभाका सांसद अग्नि प्रसाद सापकोटाले बुधबार उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालयलाई स्थानीय हरीबहादुर खत्री र रमेश केसीले ८ आना जग्गा उपलब्ध गराएपछि २०७४ पुस १२ गते भवनको शिल्यान्यास गरिएको थियो । गाउँपालिको ४२ लाखको लगानीमा ७ कोठे उक्त भवन निर्माण गर्न स्थानीय उपभोक्ता समिति बनाएर एक वर्षमा निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले भवन बने संगै जनतालाई सहज र सरल रुपमा सेवा प्रदान गर्नको लागि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । मलुक समृद्विको दिशामा अगाडी बढिसकेको बताउँदै विकास निर्माण र जनताका सेवाका लागि अहोरात्र खट्न उहाँले आग्रह गर्नुभयो । जनताको सेवाको लागि आफु सदैव खट्ने उहाँले उद्घोष गर्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, नेकपाका नेता प्रतापसिं तामाङ, अमृता नेपाल, टपेन्द्र तिमिल्सिना, गाउँपालिका उपाध्यक्ष कमला कायस्था, प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली, लगायत स्थानीयको समेत उपस्थिति रहेको थियो ।
आफ्नै कार्यालय भवन बनेपछि सेवा प्रवाहामा निकै सजिलो हुने गाउँपालिका अध्यक्ष तामाङले प्रतिक्रिया दिनुभयो । ८ आना जग्गामा ७ कोठे सुविधा सम्पन्न भवन निर्माण भएपछि सामन्य कामका लागि स्थानीय जनतालाई बलेफी आउन पर्ने वाध्यतालाई अन्त्य गरिदिएको उहाँको भनाइ छ । भवन बनेसंगै उक्त वडामा एकघर एक मिटरको अवधारणा अनुसार बिजुली बत्तिको चुहावट बन्द गर्दै व्यवस्थित गर्न लागेको उहाँले जनाउँनुभयो । वडाभित्र गुठी जग्गाको समस्या तथा बन्यजन्तुबाट बालीनाली नोक्सान हुनबाट रोक्ने उपाए लगायत जनताको काममा निरन्तर लाग्ने उहाँले जनाउँनुभयो ।