निर्मल बस्नेत
असोज २, चौतारा । सिन्धुपाल्चोक जिल्लामा उद्यमशीलता विस्तार र उद्योग बन्द हुने क्रम दुवै समानान्तर रूपमा अघि बढेका छन् । आर्थिक वर्ष २०८२÷८३ मा जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन् भने ५१ वटा उद्योग खारेज भएका छन् । नयाँ दर्ता भएका उद्योगहरूमा सेवामूलक २९, कृषि तथा वनजन्य २३, पर्यटन ९ र उत्पादनमूलक ५ वटा रहेका छन् । अर्कोतर्फ, सेवामूलक २१, कृषि तथा वनजन्य १७, पर्यटन ९ र उत्पादनमूलक ४ वटा उद्योग खारेजीमा परेका छन् । लगानी, फिर्ता र राजस्वको अवस्थाउद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकका अनुसार नयाँ दर्ता र खारेजीको वित्तीय अवस्था यस प्रकार छ ।
पुँजी लगानी र फिर्ताः नयाँ दर्ता भएका ६७ वटा उद्योगहरूमार्फत जिल्लामा कुल रु. ७ करोड ६० लाख ५० हजार बराबरको पुँजी लगानी भएको छ । यस्तै, खारेज भएका ५१ उद्योगहरू बन्द हुँदा बजारबाट रु. ४ करोड ५० लाख बराबरको पुँजी फिर्ता (फछ्र्यौट) भएको छ ।
राजस्व संकलनः उद्योग तथा व्यवसाय दर्ता, नवीकरण र प्रशासनिक दस्तुर बापत कार्यालयले यस अवधिमा कुल रु. ४ लाख ६३ हजार ७ सय राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरेको छ ।
‘पलायन रोक्न र नयाँलाई टिकाउन हाम्रो जोड छ’— प्रमुख बख्रेल
बजारमा देखिएको यो उतारचढाव र कार्यालयको भावी रणनीतिका बारेमा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले बजारको वास्तविकता यसरी प्रष्ट पारे । “जिल्लामा नयाँ उद्योग दर्ताको संख्या उत्साहजनक हुनुले उद्यमशीलता तर्फको आकर्षण अझै कायमै रहेको देखाउँछ । तर, स्थापित उद्योगहरू नवीकरण नहुनु वा खारेज हुनुमा मुख्य रूपमा आर्थिक मन्दी, पर्याप्त बजारको अभाव, र पुँजीगत समस्या जिम्मेवार देखिएका छन् । ग्रामीण भेगका साना उद्योगहरूलाई टिकाइराख्न चुनौतीपूर्ण बन्दै गएको छ । अब हाम्रो जोड नयाँ उद्योग दर्ता गर्ने मात्र होइन, पुराना तथा संकटमा परेका उद्योगहरूलाई सहुलियत, सीपमूलक तालिम र बजार सहजीकरण मार्फत पलायन हुनबाट रोक्नुमा हुनेछ ।’ नयाँ उद्योगहरूको आगमनले स्थानीय स्तरमा केही रोजगारीका अवसरहरू सिर्जना गरे पनि पुराना उद्योगहरू ठूलो संख्यामा बन्द हुनुले जिल्लाको व्यावसायिक स्थिरतामा भने चुनौती खडा गरेको छ ।
यो पनि पढ्नुहोस
सिन्धुपाल्चोकमा बजार अनुगमनको प्रभावकारिता देखिँदै
व्यवसायीलाई जरिवानाः
चौतारा । सिन्धुपाल्चोक जिल्लामा खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणमा अपारदर्शिता र कृत्रिम अभाव सिर्जना गरिएको भन्ने जनगुनासो बढेपछि प्रशासनले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको ‘जिल्ला बजार अनुगमन समिति’ ले मिति २०८३ भदौ १९ गते बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे बजारमा विशेष अनुगमन गरेको छ । ग्याँस बजारलाई नै लक्षित गरी गरिएको उक्त आकस्मिक अनुगमनका क्रममा बाह्रबिसे नगरपालिकाको वडा नं. ४ र ९ मा रहेका ५ वटा ग्यास विक्रेता फर्महरूको विस्तृत निरीक्षण गरिएको थियो ।
लुकाइएको ग्याँस बरामद, व्यवसायीलाई २५ हजार जरिवाना
अनुगमनका क्रममा बाह्रबिसेकै राम्चे इन्टरप्राईजेजले उपभोक्तालाई अभाव देखाएर भित्र लुगाई–छिपाई राखेको अवस्थामा ४ थान भरि ग्याँस सिलिण्डर फेला परेको थियो । उपभोक्ता ठग्ने र कालोबजारी प्रवद्र्धन गर्ने उद्देश्यले ग्यास लुकाएको पुष्टि भएपछि अनुगमन टोलीले उक्त सिलिण्डरहरू नियन्त्रणमा लिएको थियो ।
फर्मका सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन बमोजिम तत्कालै ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने गरी तारेख भर्पाई दिइएको थियो । सोही आदेश अनुसार सञ्चालक स्वयं उपस्थित भएपछि उनलाई रु. २५,००० (पच्चिस हजार) जरिवाना गरिएको छ र उक्त जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला भइसकेको छ । अनुगमनको प्रभावकारिता र सन्देशयस कारबाहीले जिल्लाका आम उपभोक्ता माझ सकारात्मक सन्देश प्रवाह गरेको छ ।
कृत्रिम अभाव रोकिनेः चाडबाड वा संकटका बेला ग्यास लुकाएर बढी मूल्यमा बेच्ने प्रवृत्तिका विरुद्ध यो एउटा बलियो चेतावनी बनेको छ ।
व्यापारीमा सजगताः अनुगमन टोलीको सक्रियता र तत्कालै भएको जरिवानाले अन्य ग्यास विक्रेताहरूलाई पनि जिम्मेवार र पारदर्शी बन्न दबाब सिर्जना गरेको छ । प्रशासनप्रति विश्वासः बजारमा बेथिति हुँदा राज्यले तत्कालै नागरिकको गुनासो सुन्छ र एक्सन लिन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ । उपभोक्ता अधिकारकर्मीहरूका अनुसार बजारलाई पूर्णतः मर्यादित र व्यवस्थित बनाउन यस्ता अनुगमनलाई बाह्रबिसे बजारमा मात्र सीमित नगरी जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्रहरू (जस्तैः खाडीचौर, मेलम्ची, र चौतारा) मा पनि निरन्तरता दिनु आवश्यक छ ।
प्रतिक्रिया