१ महिना अगाडि

बलेफी गाउँपालिकामा नयाँ वडा थप्ने कसरत, वडा नं. ९ कायम गर्न मुख्यमन्त्री समक्ष फाइल पेस

Text Size

ज्वाला
असोज १, हेटौंडा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा वडाको सिमाना तथा संख्या हेरफेर गरी नयाँ वडा नं. ९ कायम गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

‘गाउँपालिका तथा नगरपालिका, वडाको सीमा तथा संख्या हेरफेर मापदण्ड, २०८३’ अनुसार बिहीबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यस सम्बन्धी औपचारिक फाइल पेस गरिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापासमक्ष बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङले नयाँ वडा स्थापना तथा सीमा हेरफेरको सम्पूर्ण कागजातसहितको प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । फाइल पेस गर्ने क्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल र प्रदेशसभा सदस्य अमृता नेपालको समेत विशेष उपस्थिति रहेको जनाएको छ ।

६ वर्ष लामो गृहकार्यपछि प्रस्ताव प्रदेशमा बलेफी गाउँपालिकाले नयाँ वडा थप्नका लागि लामो समयदेखि गृहकार्य गर्दै आएको थियो । गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार वि.सं. २०७७ साल असार ३१ गतेको गाउँ कार्यपालिका बैठकले गठन गरेको ५ सदस्यीय कार्यदलको प्रतिवेदन र विभिन्न चरणमा भएका स्थानीय तहका निर्णयका आधारमा यो प्रक्रिया अगाडि बढाइएको हो । साविकको फूल्पिङ डाँडा गाविसका विभिन्न वडाहरूको समायोजन तथा व्यवस्थापन गरी नयाँ वडा नं. ९ थप गर्ने प्रस्ताव गरिएको छ ।

कानुनी प्रक्रिया पूरा गरी अन्तिम निर्णयको पर्खाइ

गाउँ कार्यपालिका र गाउँ सभाको बैठकबाट वडाको सीमा र संख्या हेरफेर गर्ने निर्णय भएपछि प्रचलित मापदण्डको दफा ५(१) बमोजिम अध्ययन समिति गठन गरिएको थियो । सोही समितिले दिएको प्रतिवेदन र जिल्ला समन्वय समितिको कार्यालयमार्फत प्राप्त निर्देशन र प्रक्रिया पूरा गरी अनुसूची–२ बमोजिमका आवश्यक कागजात तयार पारेर मुख्यमन्त्री समक्ष बुझाइएको हो । बलेफी गाउँपालिकामा हाल ८ वटा वडाहरू रहेका छन् ।

साविकका कतिपय वडाहरूको भूगोल ठूलो र सेवा प्रवाहमा असहजता भएपछि स्थानीय स्तरबाटै वडा विभाजनको माग हुँदै आएको थियो । यो प्रस्ताव पेस भएसँगै अब बागमती प्रदेश सरकारबाट आवश्यक कानुनी तथा व्यावहारिक प्रक्रिया पूरा भई नयाँ वडा कायम हुनेमा बलेफीबासी विश्वस्त देखिएका छन् ।

Sindhu Jwala Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।