मुस्कान गिरीको नेतृत्वमा कालिदेवीको नयाँ विव्यस गठन

निर्मल बस्नेत
१४ असार, कदमबास । कालिदेवी माध्यमिक बिद्यालयमा अभिभावकहरुको एक भेलाले मुस्कान गिरीको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । अभिभावकहरुको भेलाबाट सर्वसहमतिले उक्त समिति गठन भएको विद्यालयका प्रधानाध्यपक संजिव तामाङले जानकारी दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका ९ को २ वटा माध्यमिक बिद्यालय मध्ये एक हो कालिदेवी । अर्को विद्यालय गोल्मादेबी माविले अघिल्लो हप्ता नै सरोज लामाको नेतृत्वमा नयाँ समिति गठन गरिसकेको छ ।

कालिदेवीको नवगठित विद्यालय व्यवस्थापन समिति अध्यक्षमा मुस्कान गिरी, सदस्यहरुमा शान्ती माझी ,निरुता तामाङ र तेज बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै भेलाले दिनेश गिरीको नेतृत्वमा ५ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । सदस्यहरुमा अरुणा पोखरेल, सेतीमाया श्रेष्ठ , केशरी श्रेष्ठ र इश्वर गिरी रहेका छन् ।

बिद्यालयको भैपरी आउने गतिविधिको लागि आवश्य सल्लाह र सुझावको लागि श्यामकाजी गिरी , चक्र बहादुर श्रेष्ठ र चन्द्र बहादुर गिरीको ३ सदस्यीय सल्लाहकार समेत चयन गरेको विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण गिरीले बताए ।
नवगठित समितिका पदाधिकारीलाई समाजसेवी बलराम गिरी, प्रधानाध्यापक
संजिव तामाङले खादा र अविर लगाएर शुभकामना व्यक्त गरेका थिए ।

नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष नारायण गिरीले विद्यालयको हितानुकुल गतिविधि गर्न र पुराना भएगरेको उपलब्धीको रक्षा गर्न आग्रह गरे । मुस्कान गिरी र दिनेश गिरीको २ समितिले हल गोरुले झै मिलेर काम गर्ने आशा व्यक्त गरे । उनले विद्यालयको आर्थिक पक्षलाई विस्वासिलो र पारदर्सि बनाउनको लागि मासिक आय व्याय विवरण शिक्षक र विव्यस समक्ष प्रस्तुत गर्न विद्यालय प्रशासनलाई आग्रह गरे ।
वर्तमान सरकारले बैशाख २० गते ल्याएको अध्यादेश अनुरुप पुरानो समिति भंग भएपछि विद्यालयको नयाँ समिति गठन गरेको हो ।

सोही वडाका वडा सदस्य उर्मिला विकको अध्यक्षतामा सम्पन्न भेलामा बिद्यालयका अभिभावक, शिक्षक कर्मचारी र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।