बाह्रबिसे नगरपालिकाद्वारा आ.व २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुतः डिजिटल प्रणाली, शिक्षा र कृषिमा जोड
दिनेश दुलाल
असार ९, बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको १९ औं नगर सभामा आ.व २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम गरेका थिए ।

“हामी सबैको चाहनाः सुन्दर, शान्त र सफा नगरको परिकल्पना” को दीर्घकालीन सोचलाई साकार पार्न सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय र पूर्वाधार विकासलाई केन्द्रमा राखी यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको हो ।
नीति तथा कार्यक्रममा समेटिएका मुख्य क्षेत्रगत विशेषताहरू यस्तो छ ः डिजिटल भुक्तानी र सुशासन नगदरहित पालिकाः राजस्व संकलनलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई निरन्तरता दिइने जनाइएको छ । त्यस्तै स्थायी लेखा नम्बर आगामी आर्थिक वर्षदेखि नगरपालिकाबाटै व्यक्ति तथा व्यवसायीहरूलाई स्थायी लेखा नम्बर उपलब्ध गराउन आवश्यक पहल गरिने जनाएको छ ।

सुरक्षा र प्रविधिः बजार क्षेत्रमा सडक सौर्य बत्ती र सी.सी.टि.भी. जडान कार्यलाई निरन्तरता दिई नागरिक सुरक्षा सुनिश्चित गरिने उल्लेख छ । त्यस्तै विद्यार्थीहरूको आकर्षण र पोषणका लागि निःशुल्क दिवा खाजा कार्यक्रमलाई विस्तार गरी कक्षा १० सम्म लागू गरिने उल्लेख छ । यस्तै स्थानीय पाठ्यक्रम परिमार्जन गरी स्थानीय भाषा (मातृभाषा) मा अध्यापन गराउन प्रोत्साहन गरिने र नमूना विद्यालय पहिचान गरी शिक्षक दरबन्दी थप गरिने उल्लेख छ

पूर्वाधारः शैक्षिक तथा भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री, अपाङ्गमैत्री तथा लैंगिकमैत्री बनाइने नीति लिइएको छ । बाँझो जमिन उपयोग गर्न ‘भूमि बैंक प्रणाली’ मार्फत करार खेती र सहकारी खेतीलाई प्रोत्साहन गरिने उल्लेख छ । किसानका उत्पादन सहज रूपमा बजार पु¥याउन ‘कृषि एम्बुलेन्स’ को व्यवस्था मिलाउनको साथै डिजिटल माध्यमबाट भुक्तानीलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुको साथै कृषि तथा पशुपन्छी क्षेत्रको बजारीकरणका लागि न्यूनतम समर्थन मूल्य तोकिने उल्लेख छ । किसानलाई गरिने भुक्तानी सिधै उनीहरूको बैंक खातामा डिजिटल माध्यमबाट जम्मा गरिने उल्लेख छ ।
रैथाने बाली र मासुमा जोडः जौ, फापर, मास, हिमाली धान जस्ता रैथाने बालीको प्रवद्र्धन गरिनेछ भने पालिकालाई मासुमा आत्मनिर्भर बनाउन व्यावसायिक घाँस खेती र पशुपन्छीमा खोप अभियान चलाइने उल्लेख छ ।
स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधारएम्बुलेन्स स्तरोन्नतिः नगर अस्पताल मार्फत सञ्चालन हुने एम्बुलेन्सलाई ’ख’ वर्गमा स्तरोन्नति गरिने नगर प्रमुख बस्नेत ठोकुवा गरे । त्यस्तै प्रत्येक वडामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम चलाइने उनले बताए ।
नीति तथा कार्यक्रममा उल्लेख गरे अनुसार राष्ट्रिय परिचयपत्र वितरणः जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विवरण दर्ताका लागि नगरपालिकामा नै राष्ट्रिय परिचयपत्र सेवा इकाई स्थापना गरिने छ ।
आगामी वर्ष अति आवश्यक भन्दा बाहेक नयाँ सडकका ट्रयाकहरू विस्तार नगर्ने र नगरस्तरीय आयोजनाहरूमा १०% जनश्रमदान कायम गर्ने नीतिलाई निरन्तरता दिइएको छ । नगर प्रमुख बस्नेतले प्रस्तुत नीति तथा कार्यक्रमले नगरपालिकाको समग्र विकास र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरबासी, राजनीतिक दल र जनप्रतिनिधिहरूलाई एकताबद्ध भई सहयोग गर्न अनुरोध गरेका छन् ।
यो पनि पढ्नुहोस

