भोताङमा वडास्तरीय विद्यालय वार्षिक उत्सव: सगरमाथा आरोहीदेखि उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

असार ५, थाङपालधाप (सिन्धुपाल्चोक) ।पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३, भोताङमा वडास्तरीय विद्यालय वार्षिक उत्सव, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

भोताङ वडा कार्यालयको आयोजना तथा पाँचपोखरी सिकाइ केन्द्र र सेरेचु बरलो साना किसान कृषि सहकारी संस्था लिमिटेडको सह–आयोजनामा शुक्रबार एक विशेष समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो ।

सगरमाथा आरोही र जनप्रतिनिधि सम्मानितकार्यक्रममा भोताङ वडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी गाउँको नाम उँचो बनाउने कीर्तिमानी आरोहीहरूलाई विशेष सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा ५ पटक सगरमाथा चढेका ग्याल्वो तामाङ, ३/३ पटक आरोहण गरेका पेमा टासी तामाङ र लाक्पा तामाङ तथा २ पटक आरोहण गरेका सिङ्गी तामाङ रहेका छन्।यस्तै, वडाको विकास र स्थानीय सरकार सञ्चालनमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व वडा अध्यक्ष ङिमा छिरिङ तामाङ र निवर्तमान वडा सचिव अल्लारे वाइबालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।


विद्यार्थी र शिक्षकलाई पुरस्कारसमारोहमा शैक्षिक सत्र २०८२ मा वडाभित्रका विभिन्न विद्यालयबाट उत्कृष्ट अङ्क ल्याई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको थियो।

विद्यार्थीहरूको हौसला बढाउनुका साथै विद्यालय तहमा उत्कृष्ट कार्य गर्ने शिक्षकहरूलाई पनि कार्यक्रममा सम्मानित गरियो।प्रधानाध्यापक अधिकारीलाई उत्कृष्ट कार्यसम्पादन सम्मानकार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्य गरेको ठहर गर्दै श्री भोताङ देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीलाई विशेष सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।शिक्षा, खेलकुद, सामाजिक तथा सामुदायिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै यो बृहत् कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ। यस्ता कार्यक्रमले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधार्न र समाजका विभिन्न क्षेत्रका प्रतिभाहरूलाई अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।