बंगलादेशको यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवद्र्धनको सशक्त सेतु बन्न सफल
सिन्धुज्वाला २०८३ जेठ २१ बिहीबार
काठमाडौं । एउटा छुटै ईतिहास बोकेको, नेपाल, नेपालको पर्यटकिय क्षेत्रहरु र साँस्कृतिक धरोहरालाई फोटोको माध्यमबाटै विश्वमा चिनाउन लागि परिरहेको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका फोटो पत्रकारहरुले हालसालै बंगलादेशको भ्रमण सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनको निमन्त्रणामा बंगलादेश प्रस्थान गरेको हो । नेपाल र बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहेको “मित्रता र भाइचारा” सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो भ्रमणले दुई देशबीचको पत्रकारिता, संस्कृति, पर्यटन र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

टोलीमा वरिष्ठ उपाध्यक्ष लेख बहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिस सिंह नगाल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा तथा साधारण सदस्य रामशरण ‘अजय’ महर्जन लगायत सहभागी भएका थिए ।

भ्रमणको मुख्य उद्देश्य
नेपाल र बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहेको “मित्रता र भाइचारा” सम्बन्धलाई थप मजबुत बनाउने यो भ्रमणको मूल उद्देश्य रहेको थियो साथै नेपाल र बंगलादेशबीच फोटो पत्रकारितामार्फत स्थापित सम्बन्धलाई थप विस्तार गर्नु, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्नु तथा दुवै देशका फोटो पत्रकारबीच अनुभव आदान–प्रदान गर्नु रहेको थियो ।
विशेष गरी नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सौन्दर्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नु, नेपाली फोटो पत्रकारहरूको सिर्जनशीलता र व्यावसायिक क्षमता प्रस्तुत गर्नु, प्रेस स्वतन्त्रता, फोटो पत्रकारिताको चुनौती र सुरक्षा सम्बन्धी अनुभव साझा गर्नु, दक्षिण एसियाली फोटो पत्रकारितामा सहकार्यको वातावरण निर्माण गर्नु, आगामी दिनमा संयुक्त प्रदर्शनी, तालिम तथा आदान–प्रदान कार्यक्रम सञ्चालनको आधार तयार गर्नु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।

“सुन्दर नेपाल” फोटो प्रदर्शनी
भ्रमणकै क्रममा ढाकामा आयोजित “सुन्दर नेपाल” शीर्षकको फोटो प्रदर्शनी भ्रमणको प्रमुख आकर्षण बनेको थियो। कार्यक्रममा बंगलादेशका प्रदेश सूचना मन्त्री यसीर खान चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने हसन हफिजले प्रदर्शनी उद्घाटन गरेका थिए।
प्रदर्शनीमा नेपालको हिमाल, पहाड, तराई, धार्मिक सम्पदा, सांस्कृतिक विविधता, जनजीवन तथा प्राकृतिक सौन्दर्य झल्काउने ४० भन्दा बढी तस्बिरहरू प्रदर्शन गरिएको थियो। नेपाली फोटोपत्रकारहरूले खिचेका ती तस्बिरहरूले नेपाललाई केवल पर्यटकीय गन्तव्य मात्र नभई सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिएको देशका रूपमा प्रस्तुत गरेका थिए।
प्रदर्शनी अवलोकन गर्ने बंगलादेशी अतिथि, सञ्चारकर्मी तथा दर्शकहरूले नेपाली फोटोपत्रकारहरूको प्रस्तुतीकरण, दृष्टिकोण र सिर्जनशीलताको उच्च प्रशंसा गरेका थिए।
“Photographer on the Street” अन्तर्राष्ट्रिय सेमिनार
भ्रमणको अर्को पाटो रहेको थियो ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेश (PIB) मा “Photographer on the Street” शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको थियो। सडक आन्दोलन, जनउठान र द्वन्द्वका बेला फोटो पत्रकारिताको भूमिका विषयमा केन्द्रित उक्त कार्यक्रममा नेपाल र बंगलादेशका अग्रणी फोटो पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
PIBका महानिर्देशक फरुक वासिफले स्वागत मन्तव्य राख्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन फोटो पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। बंगलादेश जर्नालिस्ट वेलफेयर ट्रस्टका प्रबन्ध निर्देशक बशिर जमालले संकटका बेला सत्य र यथार्थ चित्रणमा फोटो पत्रकारहरूको जिम्मेवारी अझ बढ्ने उल्लेख गरे। त्यसैगरि नेपालमा फोटो पत्रकारिताको ईतिहास, वर्तमान परिस्थिति र जुनसुकै आन्दोलनमा फोटो पत्रकारहरु साक्षी बनेर आफ्नो व्यवसायलाई मध्यनजर गर्दै फोटो पत्रकारिता गरिरहेको विषयमा संस्थाका अध्यक्ष प्रदिपराज वन्तले स्पष्ट पार्नु भएको थियो ।
त्यसैगरि विश्वलाई नै चकित पारेको नेपालको जेन्जी आन्दोलनको बेलामा फोटो पत्रकारहरुले खेलेको भूमिका, फोटो पत्रकारहरुले झेल्नु परेको कष्ट आदीको विषयमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठले स्पष्ट पार्नु भएको थियो ।
प्यानल छलफलमाः
बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गनी चौधरी, बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष ए.के.एम. मोहसिन, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त, बीपीजेएका महासचिव बाबुल तालुकदार, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ लगायतले आफ्नो अनुभव र धारणा प्रस्तुत गरेका थिए । छलफलका क्रममा सडक आन्दोलनका बेला फोटो खिच्दा सामना गर्नुपर्ने जोखिम, प्रेस स्वतन्त्रता, नैतिकता, सुरक्षा चुनौती तथा पत्रकारको जिम्मेवारीबारे गहन बहस भएको थियो।
अन्तर्राष्ट्रिय सम्मान र पहिचान
ढाकामा आयोजित “इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६” कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका १० सदस्य सम्मानित भएका थिए । बंगलादेश सरकारकी सामाजिक कल्याण राज्यमन्त्री फर्जना शर्मिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारी, बंगलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यमका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

