इन्द्रावती र सुनकोशीमा क्रसर उद्योगको लापरवाही ज्यादै
५ मिटर सम्म नदि दोहन देखि कर छली गर्छन व्यवसायी

बैशाख १८ -२०८३), बन्देउ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको नेतृत्वमा इन्द्रावती र सुनकोशी नदिमा रहेका क्रसर उद्योगहरुको अनुगमन गरिएको छ ।
इन्द्रावती, सुनकोशीलगायत नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन कार्य बढेपछि त्यसलाई पारदर्शी र व्यवस्थित बनाउन भन्दै समन्वय समितिको नेतृत्वमा अनुगमन गरिएको हो । जिल्ला समन्वय, जिल्ला प्रशासन, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकार लगाएत टोलीले अनुगमन गरिएको जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अनुगमनका क्रममा मेलम्ची क्षेत्रमा क्रसर उद्योगीहरुले नदिमा ५ मिटर सम्म नदिजन्य पदार्थ उत्खनन गरेरका छन् । सुनकोशी नदिमा समेत सोही अनुपातमा नदि उत्खनन भएको उनले बताए । …कुनैपनि क्रसर उद्योगहरु मापदण्ड अनुसार चलेका छैनन, केहीले कर समेत तिरेका छैनन, मापदण्ड विपरित नदि उत्खनन गरेको देखियोÚ, समन्वय प्रमुख श्रेष्ठले भने ।
बिहिबार सुनकोशी नदि आसपासमा अनुगमन गरेर प्रतिवेदन तयार गरेपछि प्रमुख जिल्ला अधिकारी सहितका सरोकारवालाको बैठकले प्रतिवेदन उपर छलफल गरेर कारवाहीको प्रक्रिया थालिने उनले जानकारी दिए ।
नदी क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका सामग्री उत्खनन गर्दा कार्यविधि अनुसार नभए जरिवाना गर्ने उल्लेख छ । कार्यविधिमा नदीभित्र मेसिनरी औजारको प्रयोग गरी जथाभावी संकलन गरेमा मेसिनको स्तर हेरेर जरिवाना गर्ने भनिएको छ ।
कार्यविधि बनाएपछि यो नियमविपरीत नदीबाट सामग्री उत्खनन गरिरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरी कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाउने छन् ।

