प्रगतिशील लेखक संघद्वारा ८ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी सम्पन्न

दिनेश दुलाल
चैत्र २१ -२०८२), दोधारा चाँदनी । प्रगतिशील लेखक संघ, नेपाल केन्द्रीय समितिको आयोजनामा राष्ट्रिय परिषद् बैठक तथा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी–२०८२ दोधारा चाँदनी नगरपालिकामा सम्पन्न भएको छ । प्रलेस सुदुरपश्चिम प्रदेश तथा कञ्चनपुर जिल्लाको आतिथ्यतमा चैत २० देखि २१ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम ८ बुँदे दोधारा चाँदनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

नेपाल, भारत लगायत विभिन्न देशका प्रगतिशील लेखक तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा अन्तर्राष्ट्रिय स्तरका स्रष्टाहरूको सहभागितमा भएको अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीको पूर्व पराराष्ट्रमन्त्री मन्त्री तथा प्रलेस पूर्व केन्द्रीय सदस्य प्रदिप ज्ञावालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रलेसले जनाएको छ ।

प्रलेसले दिएको जानकारी अनुसार सङ्गोष्ठीमा समसामयिक साहित्य, प्रगतिशील विचारधारा, सांस्कृतिक आन्दोलन र विश्व साहित्यको वर्तमान अवस्थाबारे गहन छलफल भएको थियो । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रष्टाबीच अनुभव आदान–प्रदान, विचार विमर्श तथा सहकार्यको सम्भावना पनि सुदृढ गराउने प्रतिवद्वता समेत गरिएको थियो । यस प्रकारका अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रमहरूले नेपालको साहित्यिक क्षेत्रलाई विश्वसँग जोड्न सहयोग पुग्ने र प्रगतिशील साहित्यिक आन्दोलनलाई थप सशक्त बनाउने सहभागी वक्ताहरुले धाराणा राखेका थिए ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा सुदूरपश्चिम प्रदेशका स्थानीय झाँकी तथा सांस्कृतिक प्रस्तुत गरिएको थियो । स्थानीय कला, संस्कृति र पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहित विविध सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गर्दै सम्पन्न भएको अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठी सम्पन्न पश्चात प्रलेसले ८ बुँदे दोधारा चाँदनी घोषणापत्र जारी गरेको हो ।

यस्तो छ जारी गरिएको ८ बुँदे घोषणापत्र

प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा चैत्र २० र २१ कंचनपुर जिल्लामा सम्पन्न अन्तराष्ट्रिय संगोष्ठीमा जारी दोधारा चाँदनी घोषणा पत्र
१) प्रगतिशील लेखक संघ, नेपाल नेपाली सीमानाको रक्षा तथा राष्ट्रिय स्वाधिनताको रक्षाको लागि आफ्नो जीवन बलिदान गर्नुहुने भीमदत्त पन्त देखि पूर्नवास, कंचनपुर निवासी गोविन्द गौतम लगायतका ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछ ।

२) प्रलेसको यस राष्ट्रिय कार्यक्रमको माध्यमले सीमान्त क्षेत्रका आवाजलाई साहित्य लेखनको माध्यमले नेपालको राष्ट्रिय राष्टिय मूलधारमा प्रवाहित गर्ने कार्य गरेको सन्दर्भमा यहाँको समूचित विकासका लागि समेत लेखनका माध्यमले प्रवाहित गर्न यो अन्तराष्ट्रिय संगोष्ठीमा प्रस्तुत साहित्य र विचारका भावनाहरुलाई समेट्दै सूदुर पश्चिम प्रदेशका विभिन्न भाषा, संस्कृति, कला तथा साहित्यलाई विश्व प्रगतिशील साहित्यमा प्रचार प्रसार गर्न दोधारा चाँधनी विशेषांक प्रकाशित गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

३) अहिलेको विषम परिस्थितिमा प्रगतिशील लेखन तथा साहित्यको संरचना परम्परागत ढंगमा मात्र सिमित राख्नु उचित देखिदैन । युवा पुस्तताका भावनालाई समेट्दै हाम्रो साहित्यलाई परिमार्जन गर्नुपर्ने आवश्यकता छ । साम्राज्यवादीहरुले भाषा, साहित्य, कला र संस्कृति, आधुनिक प्रविधिको प्रयोग गर्दै प्रगतिशील लेखन साहित्यका विरुद्ध सशक्त मोर्चा बनाइरहेको सन्दर्भमा प्रलेस, नेपाल हाम्रो लेखन तथा साहित्यलाई राष्टियता, सार्वभौमिकता, नेपाली मौलिकता तथा श्रमजीवी जनताको भावनालाई अझ परिमार्जित गर्दै क्रियाशील हुने प्रतिवद्धता जाहेर गर्दछ ।

४) भाद्र २४ गते पछि नेपालको राजनीति विदेशी शक्तिहरुको चपेटामा पर्दै गइरहेको छ । नेपालको भ्रष्ट राजनीति र कुशासनका विरुद्ध नेपाली जनताको आक्रोशलाई पक्रदै विदेशी शक्तिहरु नेपाली राजनीतिमा आफ्नो प्रभावलाई बढाउदै गइरहेका छन्् । प्रारम्भमा नेपालको संसदबाट एमसीसी पारित गरेर आफु अनुकुल वातावरण बनाइयो । प्रलेस, नेपालले त्यो बेला नै एमसीसीको विरोधमा आफ्नो भूमिका निर्वाह गरेको थियो । अहिले फेरि चीनविरोधी गतिविधि गर्न एसपीपि पारित गर्न अनुकूल वातावरण बनाइदै छ । आफ्नो कथित उदेश्यहरु पुरा गर्न वर्तमान सरकार फाशिष्ट तथा स्वेच्छाचारी प्रकारले राजनीतिक नेताहरुलाई दमन तथ गिरफ्तारी गरिरहेको अवस्था छ । प्रलेस, नेपाल देशको राष्टियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिदै वर्तमान सरकारको यसप्रकारको फासिष्ट शैलीको कडा रुपमा भ्रत्र्सना गर्दछ ।
५) वर्तमान सरकार आफ्नो फासीवादी शैलीलाई निरन्तरता दिदै स्वतन्त्र विद्यार्थी यूनियन तथा टेड यूनियनको खारेजीका साथै स्वतन्त्र मिडियाहरु माथि अंकुश लगाउँदै गइरहेको अवस्था छ । प्रलेस नेपाल सरकारको यसप्रकारको अधिनायकवादी शैलीको कडा रुपमा भत्र्सना गर्दछ ।

६) भारत र चिनले हालै नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट द्धिपक्षीय व्यापार सम्झौता कार्यान्वयन गर्ने निर्णय गरेका छन् । उक्त निर्णले नेपालको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरेको छ । यसले अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्दै छिमकी राष्ट्रबिचको सम्बन्धमा गहिरो आघात पुगेको छ । प्रलेस नेपाल, उक्त सम्झाता तुरुन्त खारेज गरी अन्तराष्टिय नियम तथा कानुनका आधारम त्रिपक्षीय सम्बन्ध सुमधुर बनाउन जोडदार माग गर्दछ ।

७) आज अमेरिकी साम्राज्यवाद विश्व शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा बनेको छ । साम्राज्यवादी शक्तिहरुको युद्धनीतिले विश्वभर युद्धको वातावरण सिर्जना हुँदै विश्व तेश्रो विश्वयुद्धतर्फ लम्किदै गइरहेको छ । यस प्रकारको विश्वयुद्धले आणविक युद्धको सम्भावना बढ्दै गएको छ । यसले विश्व मानव जाति नै संकटमा गर्ने गम्भीर खतराको स्थितिको सिर्जना भएको छ । संसारकै सबैभन्दा ठूलो पेट्रोलियम खानी भएको भेजेजुयलामाथि सैन्य आक्रमण गरी त्यहाँको राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई अमेरिकाको बन्दी शिविरमा पुराइएको छ । अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु फासिष्ट इजरायली सरकारद्धारा स्वाभिमानी प्यालेष्टानी जनताहरुलाई उनीहरुको मातृभूमिबाट हटाउनुका साथै सार्वभौम इरानमाथि भिषण हमला गरिदै छ । भ्लालिदिमीर जेलेन्स्कीलाई हातमा लिँदै युक्रेन र रुसको बिचमा चरम द्धन्द्ध सिर्जना गरिएको छ । इरानका सर्वोच नेता खामेनीसहित ठूलो संख्यामा उच्च अधिकारीहरुको हत्या गरिएको छ । प्रगतिशील लेखक संघ, नेपाल राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाइ तुरुन्त रिहा गर्न तथा विश्वभरि चलाउदै गैरहेको युद्धउन्माद बन्द गर्न जोडदार माग गर्दछ ।
८) बामपन्थी आन्दोलनमा कृयाशील सबै पार्टीहरु, सङ्घ संस्थाहरू तथा व्यक्तिहरुलाई आपसी मतभेदलाई बाति राखि एकताबद्ध रुपमा राटिय सार्वभौमसत्ताको सुरक्षा र बाम लोकतान्त्रिक मूल्य मान्यताका संरक्षण एवं संवर्धनमा समाहित हुन आग्रह गर्दछ ।