जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मेलम्चीका विभिन्न क्षेत्रको अनुगमन

चैत्र ४, मेलम्ची । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाईमा मेलम्चीका विभिन्न क्षेत्रको अनुगमन गरिएको छ ।

जसमा मेलम्ची नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, रेडियो मेलम्ची लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूबाट बुधबार मेलम्ची नगरपालिका भित्र संचालित पेट्रोल पम्प, ग्याँस डिपो, खाद्य वस्तु बिक्रेता लगायतका १९ वटा व्यवसायहरूको स्थलगत अनुगमन गरिएको हो । अनुगमनका क्रममा करिव १३ हजार ५ सय मूल्य बराबरको अखाद्य वस्तु जफत गरि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले जानकारी दिए ।

उनका अनुसार विश्वका विभिन्न देशहरू बीच भइरहेको द्वन्द्वको कारणबाट इन्धन, ग्याँस, खाद्य वस्तु लगायतका अति आवश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणमा सहजता होस र व्यवसायीबाट हुनसक्ने कृत्रिम अभाव र सम्भाव्य कालोबजारी नियन्त्रणका लागि मेलम्ची बजारको बजार अनुगमन गरिएको हो ।

मध्यपुूर्वमा जारी युद्धका कारण बजारमा दैनिक उपभोग्यका सामान अभाव हुन नदिन मेलम्ची नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अनुगमन अघि बजार अनुगमन समितिको बैठक बसी उपभोक्तालाई दैनिक उपभोग्य सामानको अभाव हुन नदिन र बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गरिएको हो ।

यसैबीच मेलम्ची नगरपालिकाले समेत बजार अनुगमनलाई तिब्रता दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको आतिथ्यता, उप प्रमुख उमा प्रधानको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको थियो । बैठक पछि उद्योग वाणिज्य संघ उपभोक्ता संरक्षण मञ्च तथा नगरपालिका र जिल्ला प्रशासनको संयुक्त टोलिले बजार अनुगमन गरेको नगरपालिका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए । नगरपालिकाले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय वस्तु उपलब्ध गराउन यस्ता अनुगमन नियमित रुपमा जारी राख्ने जनाएको छ ।