प्रेस काउन्सिल नेपालद्वारा सञ्चार माध्यमहरुलाई भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न ध्यानकर्षण

माघ ७, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमहरुलाई भ्रमपूर्ण र तथ्यहिन समाचार सम्प्रेषण नगर्न ध्यानकर्षण गराएको छ । सहप्रशासकीय अधिकृत सहप्रवक्ता एवम सूचना अधिकारी रामशरण बोहराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी तथा सञ्चारमाध्यामहरुलाई उक्त ध्यानकर्षण गराएका हुन ।

प्रेस काउन्सिलले सञ्चार माध्यमका सामाजिक सञ्जालबाट समेत सम्प्रेषण भएका सामग्रीहरूउपर प्राप्त हुने उजुरी÷जनगुनासाहरूको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको बताएको छ ।

प्रेस वक्तव्यमा भनिएको छ –‘आ.व. २०८२।८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी काउन्सिलमा दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात ७७ वटा खण्डन सम्प्रेषण भएका, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको, १४ वटा क्षमायाचना÷भुलसुधार भएका, ५ वटाले सामग्री स्थगन गरेका, १० वटालाई स्पष्टीकरण सोधिएको, ५ वटालाई निर्देशन एवं सचेत गराइएको छ भने यस अवधिमा एक सञ्चार माध्यमलाई अवज्ञाकारी÷कालोसूचीमा राखी कारबाही गरिएको छ । त्यस्तै यस अवधिमा ६३२ वटा मिडिया÷वेबपोर्टल÷सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन भएका छन् । जसमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडिया रहेका छन् । आचारसंहिता उल्लङ्घनको गम्भीरताको आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन एवं सचेत गराइएको छ भने कुनैपनि सम्पर्क नभएका २० वटा गैरमिडियाका सम्बन्धमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार भएको छ ।

यसैगरी यही २०८२ माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन गइरहेको छ । यसै सन्दर्भमा २०८२ माघ ४ गते राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भइसकेको छ । काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमबाट पत्रकार आचारसंहिता पालना भए÷नभएको विषयमा नियमित अनुगमन गरिरहेकोमा निर्वाचन आचारसंहिता लागु भएको परिप्रेक्ष्यमा निर्वाचन आचारसंहिता समेत पालना भए÷नभएको विषयमा विशेष अनुगमन प्रक्रिया थालनी गरेको छ ।

निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोप–प्रत्यारोप, होच्याउने, मिथ्या सूचना, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू हुनसक्ने र कुनै राजनीतिक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) आउनसक्ने र त्यस्ता सामग्रीहरू सञ्चार माध्यमलाई प्राप्त हुन सक्नेहुँदा त्यस्ता सामग्रीलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी सदैव सजग हुनुपर्दछ ।

पत्रकारिताका मूल्य÷मान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवं आधार÷प्रमाण बेगर सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना÷अफवाह÷भ्रम फैलाउने, परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, पेसागत आचरण विपरीत एवं गैरकानुनी कार्य भएको हुँदा त्यस्ता कार्य हुन नदिनेतर्फ सजग रहन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीमा प्रेस काउन्सिल आग्रह गर्दछ ।

निर्वाचनको सन्दर्भमा पत्रकार जगतबाट कुनै दल विशेष वा उम्मेदवारलाई मतआह्वान गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रश्रय दिँदै सामाजिक सञ्जालमा पोष्ट गर्ने, सेयर, स्पोन्सर्ड, कमेन्ट गर्नेे, लाइभ स्ट्रिमिङ, ट्याग, मेन्सन गर्नेे, अपिल गर्ने, पक्ष वा विपक्षमा कुनै सन्देश प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिता विपरीत हुने र यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य समेत नगर्न÷नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्बद्ध सबैमा काउन्सिल आग्रह गर्दछ ।’