अमरज्योति अङ्क ६८ तथा पोखरेलको कथासङ्ग्रह सार्वजनीकरण

पाैष २५, काठमाडौ । नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा समाजको त्रैमासिक साहित्यिक प्रकाशन अमरज्योतिको अङ्क ६८ साहित्यिक पत्रकारिता विशेषाङ्क र प्राज्ञ मातृका पोखरेलको कथासङ्ग्रह‘मलाई पनि निद्रा लागेन’ सार्वजनीकरण गरिएकाे छ ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क स्थित सभाहलमा आयोजित एक कार्यक्रमका माझ उक्त दुई साहित्यिक कृति सार्वजनीकरण भएको हाे ।

सार्वजनीकरण प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, विशेष अतिथिहरूमा नेपाल स्रष्टा समाजका अध्यक्ष अोम श्रेष्ठ रोदन समीक्षक, डा. हरि सिलवाल र नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल लगाएतले संयुक्तरूपमा रूपमा गरेका हुन ।

सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले “नेपालको साहित्यिक पत्रकारिता अहिले पनि सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको दावी गरे । उनले भने, ‘लहड र सनकको भरमा साहित्यिक पत्रकारिता चलेको छ ।’शर्माले साहित्यिक पत्रकारिता समाजसेवाको एउटा माध्यम रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा “अमर ज्योति साहित्यक पत्रकारिता विशेषाङ्क’ को समीक्षा नेपाल स्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार ओम श्रेष्ठ ‘रोदन’ ले गरेका थिए । त्यस्तै मलाई पनि निद्रा लागेन कथासङ्ग्रहको समीक्षा डा. हरि सिलवालले गरेका थिए ।

कार्यक्रममा कथाकार मातृका पोखरेलले आफ्नो कृतिको बारेमा र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरी अमरज्योति साहित्यिक त्रैमासिकको बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा उल्लेख्य मात्रामा साहित्यिक पत्रकारहरूको उपस्थिति रहेको थियो । साथै विशेषाङ्कमा लेख समावेश भएका बहुसंख्यक साहित्यिक पत्रकारहरू पनि उपस्थित रहेका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि र विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान र लेखकहरूलाई पारिश्रमिक प्रदान गरिएको थियो ।

अमर ज्योति पत्रिकाका प्रधान सम्पादक विष्णुप्रसाद आचार्य ‘अतृप्त’ को अध्यक्षता तथा कार्यकारी सम्पादक युवराज शर्माको सञ्चालनमा भएकाे सो कार्यक्रममा उपस्थित सहभागीलाई विद्युतकर्मी साहित्यिक समाजको उपाध्यक्ष शारदा पराजुलीले स्वागत गरेकी हुन ।

अमर ज्योति साहित्यिक पत्रकारिता विशेषाङ्कमा २६ जना साहित्यिक पत्रकारको लेख समाबेश गरिएको छ । प्रत्येक लेख साहित्यिक पत्रकारिताका विविध अायममा केन्द्रित भई लेखिएको छ । जसमा निम्न अनुसारका साहित्यक लेखकहरू समावेश छन् ।

१.वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अन्तर्वार्ता
२. शारदाको कथा – ऋद्धिबहादुर मल्ल
३. नेपाली साहित्यिक पत्रकारिताको संक्षिप्त चर्चा – रोचक घिमिरे कार्यपत्र
४. डोट्याली साहित्यिक मासिक पत्रकारिताको साक्षात्कारपूर्ण यात्रा – कर्ण दयाल ‘सोराडी’
५. गोर्खापत्र भारत जीवनदेखि अमरज्योतिसम्म विचारण गर्न खोज्दा – कुलप्रसाद पराजुली
६. प्रगतिवादी साहित्यिक धाराको यात्रा – जीवन शर्मा
७. मिडिया र साहित्यको ‘अन्डरबेल्ड’ बुझ्ने यात्रा – डा. टंक उप्रेती
८. साहित्यिक पत्रकारिता र प्रेस काउन्सिलको सम्बन्ध – ठाकुर बेलवासे
९. साहित्यको प्रवर्द्धनमा रेडियो नेपालको भूमिका – ताराप्रसाद वस्ती
१०. संस्मरण नवप्रज्ञापन यात्रा : मोड, सन्दर्भ र प्रसङ्गहरू – नवराज रिजाल
११. हरहमेशा उपेक्षित उपेक्षित साहित्यिक पत्रकारिता – निर्मल अर्याल
१२. साहित्यिक विकासको मार्गमा कपन बानेश्वरका पाइला – परशुराम अधिकारी
१३. नेपालमा साहित्यिक पत्रकारिता – पवन आलोक
१४. साहित्यिक पत्रकारिता प्रकाशनका क्रममा हिमाद्रि, भोगाइ र अनुभव – पुष्य घिमिरे
१५. राष्ट्रिय जागरणमा साहित्यिक पत्रकारिताको भूमिका – प्रकाश थापामगर
१६. अन्तर्बोधसँगको अन्तर्सम्बन्ध – बोधराज पौडेल
१७. महिला सशक्तीकरणमा साहित्यिक पत्रकारिता – मनु बि.क.
१८. बदलिँदो रूपमा आजको साहित्यिक पत्रकारिता – मातृका पोखरेल
१९. साहित्योत्थानमा नवप्रज्ञापनको योगदान – माधव घिमिरे ‘अटल’
२०. नेपाली साहित्यिक पत्रकारिता : संक्षिप्त परिचय र समस्याहरू – मोहन दुवाल
२१. राष्ट्रको भाषिक अस्मिता रक्षामा साहित्यिक पत्रिकाको देन – रामेश्वर राउत मातदास
२२. शाल्मली, शब्दघर र परिधि – लक्ष्मी भट्टराई ‘परिधि’
२३. त्यो शारदा यो शारदा – विमल भौकाजी
२४. प्रकाशनहरूको यात्रा मित्र : अमर ज्योति – शब्दसेना
२५. नेपालकाे राजनीतिक आन्दोलनमा साहित्यिक पत्रकारिताको योगदान – शशिधर भण्डारी
२६. समष्टि, हिजो र आज – शान्तिराम भट्टराई ‘शाराभ सिन्धु’

स्रोत :- युवराज शर्मा कार्यकारी सम्पादक अमर ज्योति साहित्यिक त्रैमासिक