सरस्वती माविको ६३ औँ वार्षिकोत्सव तथा ३२ औँ अभिभावक भेला सम्पन्न

दिपक विक्रम देउजा

पुष २०, ग्याल्थुम । हेलम्बु गाउँपालिका–४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा ३२ औँ अभिभावक भेला सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री कृष्णकुमार तामाङ (समीर)को प्रमुख आतिथ्यता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सिन्धुपाल्चोक जिल्लाकै पुराना विद्यालय मध्ये एक मानिने उक्त विद्यालय २०७८ असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री तामाङले बाढीका कारण जोखिममा परेका मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिको संरक्षण र पुनर्निर्माणका लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गर्दै नेतृत्वदायी भूमिकामा आफू सक्रिय रहेको बताए । मेलम्ची पुनर्निर्माण राज्यको दायित्व भएकाले सबै तहका सरकारले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो ।
सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालय व्यवस्थापन, शिक्षक–कर्मचारी र सरोकारवाला पक्षको निरन्तर सक्रियता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तामाङले जहाँ विद्यालय राम्रो भएका छन्, त्यहाँ व्यवस्थापन र शिक्षकको लगनशीलताकै भूमिका निर्णायक हुने तर्क राखे ।

कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुलाई शैक्षिक हबका रूपमा विकास गरिने ठोकुवा गरे । शिक्षाको खोजीमा गाउँ छाडेर सहरमा महँगो शुल्क तिरेर बोर्डिङ पढाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक कुमारप्रसाद घोरासैनीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वडा नम्बर ४ का अध्यक्ष बुद्धिमान तामाङले शुभकामना मन्तव्य राख्दै समग्र वडाको विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए ।

विद्यालयले आफ्नो ६३ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा कार्यक्रमका प्रमुख अतिथि मन्त्री कृष्णकुमार तामाङ (समीर), लामो समय सेवा प्रदान गरी सेवा निवृत्त शिक्षक प्रेमकुमार लामिछाने, पूर्व शिक्षिका लक्ष्मी चालिसे तथा पूर्व विद्यार्थी सोम तामाङ लगायतलाई सम्मान गरेको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष किटि तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।