पाँचबर्ष देखि जुगलको ढाडे–सिम्ले जोड्ने ब्रम्मायणी पुल अलपत्र

दिनेश दुलाल
भदौ ५, ढाडे (सिन्धुपाल्चोक) । जुगल गाउँपालिकास्थित ढाडे–सिम्ले जोड्ने ब्रह्मायणी नदीमाथि निर्माणाधीन मोटरेबल पक्की पुल बर्षौदेखि अलपत्र अवस्थामा रहेको छ । सूर्य जेभी निर्माण कम्पनी नामक ठेकेदारको चरम लापर्बाहीका कारण पुल निर्माण रोकिएको ५ बर्ष पुग्नै लाग्दा समेत पुल नबनेपछि सो पुल उपयोग गर्ने जनता निराश भएका छन् ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता अनुरूप करिब ८ करोड रुपियाँमा उक्त पुल निर्माण प्रारम्भ भएको थियो । २०७८ साल चैत्र २३ गते तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका वडा नं १ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गरेका थिए ।

पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुनुको साथै पुल निर्माण पश्चात सेलाङ र गोल्चेका स्थानीयलाई काठमाडौँ लगायत जिल्लाका जलविरे, वलेफी, खाडीचौर लगाएत क्षेत्रमा आवतजावतमा सहज मानिएको थियो । जुगल गाउँपालिकाको बाँकी पाँच वटा वडाका स्थानीयलाई सदरमुकाम चौतारा आवतजावत गर्न सहज हुने भन्दै सो पुलको लागि प्रस्ताव गरिएको थियो । जुगलको ‘लाइफ लाइन’ मानिएको उक्त पक्की पुलको निर्माण कम्पनीले दुईतर्फी पिल्लर हालेर त्यसपछि फरार रहेको छ । पिलरको लागि ठडाईएका रट सबै खिया लागि सकेको छ भने नदिको बीच भागमा राखिएका रट सबै पानीको बहावले बगाईसकेको छ ।

स्थानीय सरकारले पटक–पटक निर्माण कार्य अघि बढाउन आग्रह गरिएपनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठले बताए । उक्त पुल निर्माण थालिएको ४ वर्षमा तीन वटा ठेकेदारले थोरै मात्र काम गरेर छाडेपछि पुल निर्माण हुन सकेको छैन । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको कारण पुल निर्माणको काम अलपत्र भएको र पालिकाले निरन्तर तागेता गरिरहेको गाउँपालिका उपाध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार ठेकेदार सुवास निरौला सम्पर्कविहीन भएपछि सूर्य अभियानलाई निर्माण कार्यको जिम्मा दिईएको छ ।


जुगल गाउँपालिका–१, सेलाङ, गोल्चे, बाधसिम्ले जोड्ने उक्त पक्की पुल निर्माण कार्य अघि नबढ्दा जनताले सास्ती भोग्नु परेको जुगल गाउँपालिका–५ का वडाअध्यक्ष रविन्द्र घिमिरेले बताए । उनका अनुसार नदीमा जीर्ण झोलुङ्गे पुल त छ तर त्यस पुलबाट आउजाउ गर्न जोखिम रहेको छ । जोखिम मोलेरै भए पनि सोही पुलबाट केहीले भने आउजाउ गर्दै आइरहेका छन् । हिउँदमा ब्रह्मायणी नदीबाट सवारीसाधन लैजाने गरिएको छ तर बर्षायाम सुरु भएसँगै नदीको बहाव बढ्दा सवारीसाधान तर्न सक्दैनन् ।

पुल नबनेपछि गाउँबाट आउजाउ गर्न अति कष्टकर हुँदै आएको छ । सो पुल निर्माण नहुँदा गाउँका बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पु–याउनसमेत कठिन हुँदै आएको छ । करिब ३० किलोमिटर माथिबाट बिरामी तथा सुत्केरी बोकेर ढाँडेबजारमा ल्याएर एम्बुलेन्समा अन्यत्रका अस्पतालमा लैजानु परेको पीडा जनताले भोग्नु परेको स्थानीय गजेन्द्र थापा बताउँछन् ।

निर्माणको जिम्मा पाएका सूर्यअभियानका प्रोपाईटर गशेश आर्चायले ड्रइङ डिजाईनको एप्रुभ भईसकेपनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाई दिएको कारण काम सुरु नभएको बताए । ‘हामी पुलको काम तत्कालै गर्न चाहान्थ्यौ तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाईदिएको कारण काम गर्न गाह्रो भयो’, उनले भने । सडक डिभिजन कार्यालय चरिकोटले दुई बर्ष देखिको बिल भुक्तानी नगरेको उनले बताए ।

उता सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठले पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकोले भिओ र बिल भुक्तानीको काम नरोकिने बताए ।