सिन्धुपाल्चोक–२ बाट नेकपाका युवराज दुलाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

फागुन २४ (२०८२), सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २५५३ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार नेकपाका दुलालले २१६९९ मत प्राप्त गर्दै विजयी बनेका छन् भने १९१४६ मत सहित तामाङ दोस्रो भए । त्यसैगरी नेकपा एमालेका शेरबहादुर तामाङले १५९२६ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका झलक कुमार श्रेष्ठले १४०१९ मत सहित चौथो स्थानमा सीमित भएका छन् ।

प्रतिनिधिसभा–२ को ‘क’ बाट दुई पटक प्रदेशसभा सदस्य निर्वाचित भइसकेका दुलाल युवा नेतृत्व विकासवादी भएका कारण वाग्मति प्रदेशभरी नै लोकप्रिय मानिन्छन् । जिल्लामा सक्रिय र परिणाममुखी नेताका रूपमा परिचय बनाएका कारण अपेक्षाकृत कमजोर संगठनात्मक अवस्थाबीच पनि उनले जित हासिल गरेका हुन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मा ७ फागुन २०३९ मा जन्मिएका दुलालले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । प्रदेशसभा सदस्यका रूपमा दुई कार्यकाल काम गरिसकेका उनले वाग्मती प्रदेश सरकारमा सामाजिक विकास तथा पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।

स्वास्थ्य, पूर्वाधार र विपद् व्यवस्थापनका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका दुलाल स्पष्ट, तार्किक र तथ्यमा आधारित बहस गर्ने नेताका रूपमा परिचित छन् । अध्ययनशील स्वभाव र प्रभावशाली नेतृत्व शैलीका कारण उनले जिल्लामा आफ्नै राजनीतिक आधार निर्माण गर्न सफल भएका छन् ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत निर्वाचित भएका थिए । त्यतिबेला बस्नेतले ३९ हजार ३८१ मत प्राप्त गरेका थिए । उनलाई तत्कालीन माओवादी केन्द्रको समर्थन रहेको थियो ।

उक्त निर्वाचनमा एमालेका शेरबहादुर तामाङ दोस्रो स्थानमा रहँदै २७ हजार ५१५ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ २ हजार ४५३ मतमा सीमित भएकी थिइन् ।

यस पटकको निर्वाचनमा भने इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष बंशलाल तामाङसँग कडा प्रतिस्पर्धा भए पनि युवराज दुलालले अन्ततः विजय हासिल गर्न सफल भएका छन् ।