रिमा सेवा समाजद्वारा वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन

फागुन १३, मेलम्ची । बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय इन्जिनियर बिनोद नेपालको स्मृतिमा सामाजिक कार्यलाई निरन्तरता दिँदै रिमा सेवा समाजद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धाहरूलाई भोजन गराएको छ ।

देशैभरि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउन्डेसनले यस आर्थिक वर्ष २०८२÷८३ मा फाउण्डेसनले रिमा सेवा समाजको वृद्धाश्रममा वृद्धवृद्धाहरूलाई भोजन गराउन रु. २०,००० आर्थिक सहयोग प्रदान गरेको फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिए । साथै, वृद्धाश्रम भवन निर्माणका लागि रु. ५५,५५५ सहयोग गरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६, तालामाराङमा जन्मिएका तथा काठमाडौं बुढानिलकण्ठ–१२, कपन आदर्शनगर निवासी स्व. इन्जिनियर बिनोद नेपाल उच्च शिक्षा अध्ययनका क्रममा संयुक्त राज्य अमेरिकामा रहँदा सडक दुर्घटनामा परी असामयिक निधन भएको थियो । समाज र राष्ट्रका लागि केही गर्ने अठोट बोकेका उहाँको स्मृतिमा २०७७ सालमा स्थापना गरिएको थियो ।

फाउण्डेसनले शिक्षा, आश्रयविहीन, असहाय, अपाङ्ग, सडक बालबालिका, पारिवारिक विछोडमा परेका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूको हितमा विभिन्न सहयोग गर्दै आएको छ ।

फाउण्डेसनको यो सहयोगले पनि रिमा सेवा समाजका लागि वृद्धाश्रम सञ्चालनजस्तो पुण्य कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।