सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिताको उपाधी जुगल ’बी’ लाई

माघ ८, मेलम्ची (सिन्धुपाल्चोक) । दुवाचौरमा आयोजित मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लवद्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरिय खुल्ला भलिबल प्रतियोगिता २०८२ को उपाधी जुगल ’बी’ ले जितेको छ ।
बिहीबार भएको फाइनल खेलमा आयोजक योङ स्टार युवा क्लव र जुगल गाउँपालिका ’बी’ बीच भएको रोमान्चक खेलमा ३–१ ले जित निकाल्दै जुगल ’बी’ ले उपाधी हात पारेको हो ।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा हेलम्बु गाउँपालिकालाई हराउँदै सेलेले तेस्रो स्थानमा चित्त बुझाएको छ भने हेलम्बु गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।

चार दिनसम्म संचालन भएको प्रतियोगिताका विजेताले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हुनेले नगद ५० हजार, ३० हजार र १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक एवम् योङ स्टार युवा क्लवका अध्यक्ष प्रेम तामाङले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका १४ टिम सहभागी थिए । कार्यक्रममा विजेताहरुलाई नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेलम्ची नगरप्रमुख तामाङले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, एकता र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताए । नगरप्रमुख तामाङले भलिबलजस्तो खेलले युवाहरूमा सहकार्य, नेतृत्व, धैर्य तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले पालिकाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा ठूलो योगदान पु¥याउने बताए ।

उनले मेलम्ची नगरपालिका सधैं युवा, खेलकुद र सिर्जनशील गतिविधिको प्रवद्र्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै वडा नम्बर ७ ले खेलकुद क्षेत्रमा गरेको यो पहल प्रशंसनीय रहेको धारणा व्यक्त गरे । सीमित स्रोतसाधनका बाबजुद पनि यति व्यवस्थित प्रतियोगिता आयोजना गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई खेल भावना, अनुशासन र मर्यादा कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । नगरप्रमुख तामाङले हार–जीत खेलको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै अनुशासन र भाइचारा सधैं जितिरहोस् भन्ने शुभकामना समेत दिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिका, विशेषगरी वडा नम्बर ७ ले खेलकुद क्षेत्रमा देखाएको सक्रियता अत्यन्तै सराहनीय रहेको बताइन । यस्ता खेलकुद कार्यक्रमले युवाहरूलाई गलत बाटोबाट जोगाउँदै स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरिन ।

उपप्रमुख प्रधानले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि खेलकुद, महिला सहभागिता र युवामैत्री कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई इमानदार प्रतिस्पर्धा, आपसी सम्मान र खेल भावनाका साथ खेल्न अनुरोध समेत गरिन ।