फेरी ओलीको महाजालमा फस्दै देउवा !

दिनेश दुलाल

नेपालको राजनीतिमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले सम्मकै खतरनाक खेलाडी मानिन्छन् । भलै दुईदिने जेन–जी आन्दोलनमा उनी सत्ताच्युत भए । तर पनि उनको शान, उनको बोली र उनको रवाफ ज्यँुका त्युँ छ । जेन–जी आन्दोलनमा देउवा दम्पतिले ठूलै हविगत पाए । उनको करोडौं लुटियो र घर सम्पति मात्र जलाइएन उनीहरु दुवैलाई निर्घात पिटियो । तर ओली यि सबैबाट जोगिए ।

बालकोट स्थित उनको आश्रय जलाईएपनि उनको त्यो व्यक्तिगत थिएन । ट्रष्टको नाममा हुँदा त्यो राज्यको सम्पति थियो । जेन–जीको आक्रमणबाट जोगिए र हेलिकप्टेर चार्ट गरेर भागे । आन्दोलनको करिब १५ दिन पछि ओली सार्वजनिक भए । ओलीले वर्तमान सरकार संवैधानिक बाटोबाट नभएर तोडफोडबाट आएको बताउँदै शुशिला नेतृत्वको सरकारलाई आफूले कुनै गलत गरेको भए बाहिर ल्याउन चुनौती दिए । उनले आफूले गरेका काम सबै रेकर्डेड भएको दाबी गर्दै खोट देखाउन चुनौती दिए । ‘अहिलेको जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट, जनताको अभिमतबाट बनेको होइन,’ ‘यो तोडफोड र आगजनीबाट बनेको हो ।’ समेत भन्न भ्याए ।

‘हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ?’ यसो भन्दा उनको दम झनै बढेर गएको आभाष हुन्थ्यो । मानिलिऔं ओली सर्वाधिक अधिकार पाएका र गल्ति कहिल्यै नगर्ने भगवानरुपी अवतार हुन । केहीगरी गल्ति भएपनि उनको गल्तिलाई सामन्य मानिने छ । ओलीले जनतामा माफि नै माग्न परेन । ‘आफुले जे गरें ठिक गरें ।’ सम्भवत नेपालको इतिहासमा राजनीतिमा यति ज्याद्रो राजनेता पाउन निकै मुश्किल छ । ओली संसद फेरी पुर्नस्थापना गराएर आफ्नो पुरानै विराशत दोहो¥याउन चाहान्छन् । संसद पुर्नस्थापनाको रटान लिएका ओलीले सत्ताको सपना देखाएर कांग्रेस सभापति देउवालाई फेरी माहाजालमा फसाउँदैछन् । संसद पुर्नस्थपना भइछाड्ने र संसद पुर्नस्थापना पछिको पहिलो प्रधानमन्त्रीको रुपमा आफु हुने आशामा देउवा फेरी ललिपपमा फसेका छन् ।

फलस्वरुप गएको शनिबार बेलुकीपख ओली सुटुक्क देउवा निवास पुगे । जेनजी विद्रोहपछि दुई नेताको यो भेट पहिलो थियो । २०८१ असार १५ ले सत्ता सहयात्री भएका यी नेता फेरि सत्तामै फर्कने दाउँमा छन् । चुनावमा जनतासंग मुख देखाउने ठाउँ छैन । चुनावपछि सत्ताका अवसरका सबै दिवार बन्द हुनेछन् । भ्रष्टाचार र नरसंहारले जेलको छिडीमा थन्काउन सक्ने ठूलो सम्भावना देखिन्छ । पछिल्लो समय ट्रष्टदेखि पोखरा विमानस्थल फाइल खोलेर धेरैलाई जेलमा जाक्ने सुईको पाएपछि उनी सत्ता दोस्तिसंग महाराजगन्जमा भेट्न पुगेको प्रतित हुन्छ । त्यसैदिन ओलीले प्रधानमन्त्रीले डाइरेक्टर फेरेर भएपनि पक्राउ गर्न दबाब दिएको खुलासा गरेका थिए ।

पछिल्लो समय अख्तियार सक्रिय भएको छ । उसले गएको आईतबार पाँच पूर्व मन्त्री सहित ५५ जना विरूद्ध पोखरा विमानस्थल निर्माणमा ८ अर्ब बढीको भ्रष्टाचार गरेको अभियोग फाइल विशेषमा दर्ता गर्यो । केही दिन अघि ओलीका बफादार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परे । ट्रष्टको लीज प्रकरणदेखि विमानस्थलसम्मको मुद्दाको लहरो यीनै नेतासम्म पुग्ने देखिन्छ । तसर्थ सत्तामा फर्किन र सुरक्षित हुन संसद व्युँउताउनु नै उपयुुक्त विधि हो भन्ने ठानेका ओलीले यसअघि संसद पुर्नस्थापनाको रिट सर्वोच्चमा पुराएका थिए । मानिलिउँ संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतका न्यायधिश सबै ओलीका खल्तीका गोटी हुन, उनले जे भने त्यहि पुरा गरिदेलान !

अर्कोतिर नक्कली भुटानी शरणार्थीदेखि टीकापुर जग्गा काण्डले देउवा दम्पतीलाई बगाउन सक्छ । त्यसलाई रोक्न सकिने भएकोले संसद व्युउँताउनु उपयुुक्त हुनेमा ओलीका प्रस्तावले देउवा विश्वस्त भएका देखिन्छन् । त्यसैका लागि देउवा निर्वाचनमा जाने आफ्नै पार्टीको निर्णय विपरीत ओलीकै पथमा बढ्न खोजेको देखिन्छन् । २०८१ असारको दही च्युउराले देशमा विद्रोह र विध्वंस भयो । अब यो भेटले थप मुठभेडलाई बल दिन सक्ने आशंका हुन थालेको प्रतित हुन्छ । पुर्नस्थापन हुने संसदबाट देउवा प्रधानमन्त्री हुने ललीपप ओलीले देखाइदिएपछि देउवा लोभिएका मात्र छैनन ओलीले प्रधानमन्त्री बनाउँने कसम खाएपछि संसद पुर्नस्थापनका गर्नुपर्ने मागसहित देउवाले आईतबार आफ्ना दूतलाई सर्वोच्चमा रिट गर्न पठाएका थिए ।

जेनजी आन्दोलनपछि पहिलो पटक भेटेर ओलीले देउवालाई प्रधानमन्त्री बनाउँने वाचा गरेपछि कांग्रेसको देउवा खेमा सर्वोच्च पुगेको थियो । ओलीले अहिलेको सरकारलाई विस्थापित गर्न संसद पुर्नस्थापनाका लागि कांग्रेसले सघाए प्रधानमन्त्री बनाउने बाचा गरे । ओलीले आफ्नै निवासमा आएर आफूलाई प्रधानमन्त्री नै बनाउने कसम खाएपछि शेरबहादुरले विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङ सहित ८ जना सांसदले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुर्नस्थापनका लागि रिट दिएको बताईन्छ । कांग्रेसले बैठकबाटै संसद पुर्नस्थापनाका विपक्षमा रहदैँ चुनावमा जाने निर्णय गरेको थियो । तर, ओलीले फकाएपछि शेरबहादुर पनि सकारात्मक बन्दै प्रधानमन्त्री बन्ने लोभको महाजालमा परेका छन् । ओली मोहजालमा परेर भदौ २४ गते आफ्नै घरमा सांघातिक हमला झेलेका थिए । अब फेरि ओलीले थापेको प्रधानमन्त्रीको लोभको ढोक्साले देउवालाई कहाँ पु¥याउला ? त्यो भने भोलिका दिनमा अवश्य देखिन्छ, केही दिन प्रतिक्षा मात्रै गरौं ।