सिन्धुपाल्चोक एमालेको महाधिवेशन प्रतिनिधि छनौट मतदानमा ४० प्रतिशत मात्रै मत खस्यो
मंसिर १३, चौतारा । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि मतदान प्रक्रिया सम्पन्न भएको छ । शनिबार भएको मतदान प्रक्रियामा ४० प्रतिशत मात्रै मत खस्यो ।
५ हजार ६ सय ४७ मतदाता संख्या रहेको क्षेत्र नम्बर १ मा मुश्किले २०६३ मत खसेको छ । यो कुल मतदाता संख्याको ३६.५३ प्रतिशत हो । त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ३ हजार ७ सय मतदाता संख्या रहेकोमा १ हजार ७ सय ४४ मात्र मत खसेको छ । कुल खसेको मतको ४७.१३ प्रतिशत हुन आउँछ । दुईवटै क्षेत्रको कुल संगठित सदस्य ९ हजार ३ सय ४७ रहेकोमा मतदान प्रक्रियामा ३ हजार ८ सय ७ मात्रै मत खसेको थियो । जुन कुल मतको ४०.७२ प्रतिशत हुन आउँछ । सो पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको लागि आज सबै जिल्लाहरुमा प्रतिनिधि छनौटका लागि एकैसात निर्वाचनको प्रक्रिया चलेको हो । कतै सहमति त कतै मतदान प्रक्रिया गराईएको थियो । सोही अनुसार सिन्धुपाल्चोकमा मतदान प्रक्रिया भएको हो ।

१ नम्बर क्षेत्रको खाडीचौर र २ नम्बर क्षेत्रको मेलम्चीमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म भएको मतदानमा संगठित सदस्य आंकलन गरिएको भन्दा निकै कम सहभागी भएको सहभागीले जनाएका छन् । दुवै क्षेत्रको मतगणना प्रक्रिया सुरु भएको सो पार्टीले जनाएको छ ।
सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधि १७ जना मात्र सहभागी हुन पाउने भए पनि ७४ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
सिन्धुपाल्चोक–१ बाट खुला, महिला तथा ४० बर्ष मुनि गरी ९ जना छनोट हुनुपर्नेमा ३३ जनाले महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता गरेका थिए ।

यस्तै, सिन्धुपाल्चोक–२ बाट ७ जना महाधिवेशन प्रतिनिधिका लागि ४१ जनाले मनोनयन दर्ता गरेका थिए । ९ जनाको कोटा रहेको १ नम्बर क्षेत्रमा ५ खुला, ३ महिला र एक ४० बर्ष भन्दा मुनिको उम्मेदवार रहेका छन् । त्यस्तै ७ जनाको कोटा रहेको २ नम्बर क्षेत्रमा ४ खुला, २ महिला र १ जना ४० बर्ष मुनिको प्रतिनिधित्व हुनपर्ने प्रावधान रहेको छ ।
यस्तै उत्पीडित समुदायबाट जिल्लाभरीबाट १ जना चाहिनेमा ४ जनाको मनोनयन परेकोमा दलित क्लष्टरमा बाह्रबिसे नगरपालिका–७ का नबिन घतानी सर्वसहमत महाधिवेशन प्रतिनिधि हुन सफल भएका छन् ।

