‘तातोपानी नाका हुँदै नेपाल भित्रने कन्टेनर आउजाउमा कुनै समस्या छैन’–तातोपानी भन्सार
कार्तिक १३, तातोपानी । तातोपानी नाका हुँदै नेपाल भित्रने कन्टेनर आउजाउमा कुनै समस्या नभएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले आवश्यकताअनुसार कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं रुपैयाँ बराबरका मालवस्तु बाटोमा अलपत्र परेको कुराप्रति अनभिज्ञता जनाउँदै तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र चुडालले कन्टेनर आउजाउमा कुनै समस्या नभएको बताए । तातोपानी नाका हुँदै दैनिकी १८–२० मालबहाक कन्टेनर आउने गरेको उनले सुनाए ।

‘कति मात्रमा कन्टेर आउँदा धेरै हुने र कति नआउँदा थोरै हुने यसको मापन बुझ्न सकिन’, प्रमुख भन्सार अधिकृत चुडालले भने । लार्चा स्थित सुख्खा बन्दरगाहको क्षमता अनुसार नै कन्टेनर आउने गरेको उनले बताए । ‘भन्सार याडको क्षमता अनुसार नै मालबाहक कन्टेनर आएका छन्, एकैपटक धेरैवटा कन्टेरमा सामान ल्याउँदा भन्सार याडमै सामान राख्न मुश्किल छ’, चुडालले भने । केही महिना अघि बाढी पहिरोको कारण मालबाहक कन्टेर नेपाल भित्रन समस्या भएपनि पछिल्लो समय कुनै अवरोध नभएको उनले स्पष्ट पारे । रसुवा नाका बन्द भएपछि तातोपानी नाकाबाट दोब्बरले कन्टेर आउनपर्ने तर्क आएपनि न्यालम प्रशासनले लार्चास्थित सुख्खा बन्दरगाहको क्षमता अनुसार कन्टेनर पठाएको हुनसक्ने उनको आंकलन छ ।
गत असारदेखि नै चिनियाँ क्षेत्रमा रोकिएका सामान क्रमशः नेपाल भित्रिएको समेत उनले बताए । प्रमुख भन्सार अधिकृत चुडाँलका अनुसार भन्सार याडमा व्यापारीहरुका सामाग्री अहिलेपनि अटाइ नअटाई छन् । व्यापारीहरुले दशैंअघि मगाएका सामाग्री सयममै नआएपछि अहिले आवश्यकता नभएर बाटैमा होल्ड गरिएको हुनसक्ने उनको तर्क छ ।
पछिल्लो साता तातोपानी नाकाबाट नियमित मालबाहक कन्टेनर नेपाल भित्रिएको शिल्कट्रान्सपोर्ट कम्पनीका व्यवस्थापक विजय शेर्पाले सिन्धुज्वालालाई बताए । ‘खासाबाट कन्टेनर तातोपानी नाका हुँदै नेपाल भित्रन कुनै अवरोध छैन, बरु नेपाल तर्फ कोदारी स्थित इको क्षेत्रको पहिरो केही समस्या छ’, शेर्पाले भने ।
दिनको ४०–५० कन्टेनर सामान जाँच गर्न सक्ने जनशक्ति तातोपानी भन्सारमा रहेको त्याहाँका कर्मचारी बताउँछन् । भन्सारले नेलाम प्रशासनसँग बेलाबेला समन्वय गरेर व्यापार सहजीकरण गरिरहेको भन्सार प्रमुख चुडालको दावी छ । नेपाल तर्फ सडक अवरुद्ध हुने र पर्याप्त कन्टेनर आउजाउ गर्न नमिल्ने भएकाले अघिल्लो महिना भन्सार राजस्वमा समेत प्रत्यक्ष असर गरेको भन्सार कार्यालयको भनाई छ ।
स्मरण रहोस भूकम्पपछि तातोपानीको मितेरी पुलबाट सर्वसाधारणलाई खासा जान मान्छेको आउजाउ पूर्ण रूपमा बन्द गरिएको छ । रसुवाको मितेरी पुल बगाएका कारण गत असारदेखि मानसरोवर जाने तीर्थयात्रुका लागि भने तातोपानीनको बाटो प्रयोग गर्न दिइएको थियो । भूकम्पले भत्काएको खासामा मर्मत भइरहेको छ ।
तातोपानी मितेरीपुलबाट खासा बजार ९ किमि र खासाबाट नेलाम ३५ किमि दूरीमा पर्छ । चिनियाँ ट्रान्सपोर्ट कम्पनीका कन्टेनरहरूले नेपाल पैठारी गर्ने सामान तातोपानीस्थित मितेरी पुलपारि ल्याउने गरेका छन् । त्यहाँबाट नेपाली कन्टेनरले तातोपानी भन्सारको लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याउँछन् । भूकम्प, बाढीपहिरो र कोभिडका कारण दशकदेखि सहज रूपमा सञ्चालन हुन नसकेको तातोपानी नाका बेलाबखतमा प्राकृतिक प्रकोप लगाएत विविध कारण प्रभावित भने हुने गरेको व्यवसायीहरु बताउँछन् । तातोपानी भन्सार कार्यालयका अनुसार यो नाकाबाट चालु वर्षको साढे तीन महिनामा ३ अर्ब ३१ करोड राजस्व संकलन भएको छ ।

