सडकको स्तर उन्नती नभएसम्म मेलम्ची पानी लान नदिइने

फागुन १०, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी काठमाडौंमा पथान्तरण हुनेदिन नजिकिदै गर्दा मेलम्ची खानेपानी प्रभावितहरुले सडकको स्तर उन्नती नभएसम्म पानी लैजान अवरोध गर्ने जनाउ दिएका छन् । बिहीबार मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनाको बारेमा जानकारी दिन श्वेतपत्र जारी गरेसंगै प्रभावित स्थानीयले मेलम्ची देखि टिम्बु सडकको स्तर उन्नती नगरेसम्म पानी लान नदिने अडान राखेका हुन् । खानेपानी आयोजनाले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख गरे अनुसार असार मसान्तसम्म सुन्दरीजलमा पानी झर्ने योजना छ । तर आयोजनाले वर्षौंअघि गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै प्रभावित स्थानीयहरुले आक्रोस पोखेका छन् । हेलम्बु क्षेत्रलाई राज्यले वेवास्था गरेपछि प्रभावित स्थानीयको आक्रोस स्वभाविक भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ’मेलम्ची देखि टिम्बु सम्मको सडक नत आयोजनाले हेर्छ न संघ र प्रदेश सरकारकोनै ध्यान गएको छ, त्यहि भएर नै जनताको आक्रोस आएको हो‘, अध्यक्ष शेर्पाले भने । खानेपानी आयोजनाले प्रभावित क्षेत्रमा सडक, खानेपानी, शिक्षा, जीविकोपार्जनलगायत विकास निर्माणका कामहरुलाई आयोजनाले बेवास्ता गरेको स्थानीयवासीको आरोप छ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथान, ग्याल्थुम लगायतका स्थानीयवासीहरुले खानेपानी, सिँचाइ, सडक लगायतका समस्या अहिले पनि झेलिरहेका छन् ।

मेलम्ची प्रभावितहरुले सडक, सिँचाइ, स्वच्छ खानेपानीकोे अभाव झेलिरहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । उनले आफूहरुको मुख्य माग नै स्वच्छ खानेपानी, सडक र सिँचाइ रहेको बताए ।
समितिले आश्वासन दिएअनुसारको काम नगरेको उनले गुनासो पोखे । सरकारले हेलम्बुको जनतासँग गरेको प्रतिबद्धता पूरा नगरी मेलम्ची खानेपानी काठमाडौँ पुग्छ भनेर सोच्नु गलत साबित हुने उनको तर्क छ ।

मेलम्ची खानेपानी काठमाडौं लगेपछि यहाँ धेरै वातावरणीय प्रभाव पर्ने भएकोले भौगोलिक अवस्था सुहाउँदो आर्यआर्जनका लागि कार्यक्रमहरु आवश्यक पर्ने उनले तर्क पेश गरे । त्यस्तै मुख्य सडक र सहायक सडकहरुको स्तर उन्नती गर्नुपर्ने अध्यक्ष शेर्पाको भनाई छ । आयोजनाको मुख्य प्रभावित क्षेत्रका स्थानीयले प्रमुख मागका रूपमा स्वच्छ खानेपानीको माग गरेका छन् । त्यसैगरी सडक, शिक्षा, स्वास्थ्य, सिँचाइलगायत आयआर्जनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।
मेलम्ची खानेपानी आयोजनाबाट सिन्धुपाल्चोकका तत्कालीन ३० गाविस र काभ्रेका पाँच गाविसलाई प्रभावित क्षेत्रको सूचीमा राखिएको थियो । यस क्षेत्रका झन्डै १५ लाख जनसंख्या आयोजनाको प्रभावित सूचीमा परेका छन् ।