प्रभावितलाई निशुल्कः सेयर दिएको भन्ने हल्ला मिथ्या भएको भोटेकोशी पावर कम्पनीको दावी


असोज ३१, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीका प्रभावित जनतालाई निशुल्कः सेयर दिएको भन्ने हल्ला मिथ्या भएको भोटेकोशी पावर कम्पनीले दावी गरेको छ ।
पावर कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई पनि निशुल्कः सेयर नदिएको खुलासा गरेको छ ।
जारी गरिएको प्रेस विज्ञेप्तिमा भनिएको छ– ‘२०८२ साल आश्विन २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनिधित्व गर्ने भोटेकोशी जेन–जी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेड बीच निशुल्क सेयर दिनेगरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्याममा प्रकाशित समाचारप्रति ध्यानकर्षण भएको छ । सर्वप्रथम त दुवै कम्पनीबीच निशुल्क ः सेयर दिने सहमति नभएको स्पष्ट गर्न चाहान्छौं ।
भोटेकोशी जेन–जी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशी पावर कम्पनीको १० प्रतिशत सेयरको लागि आवेदन दिनु अगाडि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाइसकेपछि भोटेकोशी पावर कम्पनीले प्रति सेयर बराबर अंकित मूल्य रु १०० रहेको सेयर १० (दश) प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित सेयर खरिद गर्नको लागि चाहिने ऋण बैंकबाट लिने र सो ऋणको लागि भोटेकोशी पावर कम्पनीले बार्षिक रुपमा वितरण गर्ने लाभांसबाट १० प्रतिशत सेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा व्याज तिर्नको लागि उपयोग गर्नेगरी सहमति भएकोले यसलाई निशुल्क सेयर दिनेगरी सहमति भएको भन्ने भ्रममा नपर्न सम्पूर्ण सञ्चारमाध्याम लगाएत सरोकारवाला हार्दिक अनुरोध गर्दर्छौ ।’

