जेन–जी ग्रुपको नाममा माथिल्लो भोटेकोसीको उत्पादनमा अवरोध, आयोजना बन्द हुँदा राज्यलाई ठूलो घाटा
दिनेश दुलाल
२९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी नदिमा बनेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि पूर्ण रुपमा बन्द गरिएको छ । जेन–जी ग्रुपको नाममा केही स्थानीयले उत्पादनमा अवरोध पु¥याएपछि २५ गते देखि आयोजनाको उत्पादन पूर्ण रुपमा बन्द भएको आयोजनाले बताएको छ । भोटेकोसी गाउँपालिका अन्र्तगत भोटेकोसी नदिमा निजी क्षेत्रबाट प्रत्यक्ष विदेशी लगानीमा निर्माण भएको नेपालको पहिलो जलविद्युत आयोजनाको उत्पादन चार दिनदेखि पूर्ण रुपमा बन्द हुँदा राज्यलाई समेत ठूलो नोक्सानी भएको छ ।

मुलुकमा जेन–जी पुस्ताको आन्दोलनका कारण कतै सुरक्षा संयन्त्र नभएको मौका छोपी स्थानीयले १० प्रतिशत शेयर नदिएसम्म आफूहरुले नछाड्ने अडान राखेर शुक्रबारदेखि कम्पनीको पावर हाउसभित्रै सुतिरहेका छन् । स्थानीयबाट असुरक्षा हुनसक्ने भन्दै कर्मचारीले उत्पादन बन्द गरेर काठमाडौं फर्केपछि विद्युत आयोजनालाई अहिले सेनाको सुरक्षामा राखिएको छ ।

कम्पनीले स्थानीय प्रभावितलाई ६ प्रतिशत शेयर दिने सहमति हुँदा केही निश्चित शर्तहरू बमाेजिम केही प्रक्रिया बाँकी रहेकाेले उक्त प्रक्रिया पुरा हुनासाथ शेयर दिन कम्पनी प्रतिवद्घ रहेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितले बताए ।
आयोजनाले राजनीतिक दलका नेताहरुको लिखित सहमतिमा स्थानीयलाई ६ प्रतिशत शेयर दिने निर्णय २०७१ मा भएको भोटेकोसी पावर कम्पनीका सहायक महाप्रवन्धक बबिन प्रधानले बताए । ‘हामी उहाँहरुलाई ६ प्रतिशत शेयर दिन तयारै थियौं, शेयर को–कसलाई दिने, कसरी समेट्ने र जारी गर्ने प्रक्रियागत विधिमा सर्वपक्षीय सहमति कायम हुन नसक्दा रोकिएको हो,–प्रधानले भने । उनका अनुसार अहिले आयोजनालाई जेन–जी ग्रुपको नाममा पत्राचार गरेर थप ४ प्रतिशतसमेत १० प्रतिशत शेयर माग गरिएको छ ।
जेन–जी ग्रुपको नाममा उनीहले बिहीबार आयोजनाको १० प्रतिशत शेयर निःशुल्क दिनुपर्ने भन्दै पत्र थमाएका थिए । आयोजनाले उक्त विषयमा छलफल गर्न सकिने बताएको थियो । विगतमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने भन्दै आयोजना प्रभावित सबै परिवारलाई शेयर दिनुपर्ने अडान राखेपछि उत्पादन नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हो । आयोजनाको सुरक्षा नभएपछि त्याहाँ कुनै पनि कर्मचारी बसेका छैनन् ।
जेन–जी ग्रुपको नाम दिएपनि शेयरको माग गर्दै पत्राचार गर्नेहरु राजनीतिक दल आवद्ध कार्यकर्ता रहेका छन् ।
एक स्थानीयले दिएको जानकारी अनुसार भोटेकोशी गाउँपालिकाका पदमबहादुर श्रेष्ठ, वीरबहादुर तामाङ, अमृत श्रेष्ठ, मेवाङ शेर्पा, टसी शेर्पा, अर्जुन कार्की, ङासाङ्बु शेर्पा, काल्देन शेर्पालगायतको समूहले शनिबार मध्यान्ह २ बजेसम्म शेयर दिने निर्णय नगरेमा भोटेकोसी कम्पनीमा हुन जाने क्षतिको जवाफदेहिता जेन–जी ग्रुपले नलिने चेतावनी पत्रमार्फत दिइएको छ ।
पत्रमा जेन–जी समूह लेखिए पनि उक्त समूहको नेतृत्व कसले गरेको छ त्यो भने खुलेको छैन् । उक्त आन्दोलनमा सहभागी भोटकोसीका पदमबहादुर श्रेष्ठले जेन–जीको नाममा आयोजनाका विरुद्व आन्दोलन गरिएपनि उक्त माग आफुहरु समेत स्थानीय प्रभावितहरुको भएको बताए । ‘उतिबेलै स्थानीय प्रभावितलाई ६ प्रतिशत शेयर दिने कुरा भएको हो, धेरै बर्ष भएकोले अब ६ प्रतिशत होइन १० प्रतिशत पाउनुपर्छ’, –श्रेष्ठले भने ।
भोटेकोशी कम्पनीले भने आगामी असोज ३ गते वार्तामा बस्न आग्रह गर्दै जेन–जी ग्रुपको नाममा पत्राचार गरेको छ । त्यस्तै कम्पनीले शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाई पत्राचार गरेर समन्वय गरिदिन आग्रह समेत गरेको छ ।
आयोजनाको उत्पादन बन्द भएपनि कुनै तोडफोड नभएको र सेनाद्वारा सुरक्षा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । ‘आन्दोलनकारी र आयोजनालाई तपाईहरु आफैं यो समस्या मिलाउनुहोस भनेका छौं, सायद उहाँहरुले केही दिनमै समाधान गर्नुहुन्छ होला’, प्रजिअ बास्तोलाले भने ।
स्मरण रहोस कम्पनीले २०७१ मंसिरमा ६ प्रतिशत शेयर दिने सहमति गरेको थियो । त्यतिबेला काठमाडौंको एभरेष्ट होटलमा कम्पनी र दलका नेताहरुनीच लिखित सहमति भएको थियो । कम्पनीले विद्युत् उत्पादन गरेको २५ वर्ष पूरा हुन लागेको छ । केही बर्ष पछि उक्त आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजनाले जनाएको छ ।

