‘इको’ पहिरोका कारण तातोपानी व्यापार प्रभावित, भरियालाई बोकाएर मालसामान ओसारप्रसार
साउन २८, तातोपानी । अरनिको राजमार्ग अन्र्तगत कोदारी सडकखण्डको इको क्षेत्रमा पहिरो बगिरहेकाले नौ दिनयता तातोपानी नाका प्रभावित छ । खासा भन्सारबाट बल्लतल्ल जाँचपास भएर लिपिङ प्रवेश गरेका फलफूल बोकेका कन्टेनर सीमाक्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रतिकन्टेनर ५० हजारसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका छन् ।
तातोपानी भन्सार कार्यालयका अनुसार फलफूल बोकेका कन्टेनर सीमाक्षेत्रमा अलपत्र परेपछि व्यवसायीले प्रतिकन्टेनर ५० हजारसम्म थप खर्च गरेर भरियामार्फत तातोपानी ल्याउन थालेका हुन् ।
दसैँ, तिहार, छठलगायत नेपालीका ठुला चाडपर्वलक्षित गरेर चीनबाट आयात गरिएका सामग्री सीमाक्षेत्र तातोपानीमा अड्किएका छन् ।
कोदारी क्षेत्रमा बगिरहने पहिरो र साँघुरो भूगोलका कारण भारी बोक्ने भरियालाई हिँड्नसमेत समस्या छ । पहिरोमाथि गाउँ भएकाले ठुला मेसिन प्रयोग गरेर सडक बनाउन अर्को समस्या भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतको कथन छ ।
सडक बगेर भोटेकोशीमा मिसिएपछि कोदारी क्षेत्रमा रहेर ट्रयाक निर्माण गर्न लागिपरेपनि सम्भव नभएको उनले बताए ।

अध्यक्ष बस्नेतका अनुसार नेपालपट्टिको सडकको अवस्था र खासा भन्सारको पेलाइले नेपाली व्यापारी हैरानीमा परेका छन् । ‘दसैँका सामान सबै चिनियाँ क्षेत्रमा अड्किएका छन् । अबको केही दिनमा सामान काठमाडौं नपु¥याउने हो भने रेडिमेड सामान देशभर पुग्दैन,’ उनले भने ।
इको पहिरो नियन्त्रण वा नयाँ ट्रयाक बनाउनेबारे आजसम्म कुनै ठोस पहलकदमी नभएको उनको भनाई छ । भोटेकोशी गाउँपालिकाले इको पहिरो नियन्त्रण गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई पत्र नै दिएर जानकारी गराएको थियो । सडक डिभिजन कार्यालय चरिकोटले ढुंगामाटो पन्छाउन प्रयास गरे पनि बगिरहने भूगोलका कारण पहिरो नियन्त्रण सम्भव भएन ।
अहिले लिपिङ क्षेत्रमा एक दर्जनभन्दा बढी गाडी रोकिएका छन् । खासा र न्यालममा एक सय कन्टेनर फलफूल गोदाममा राखिएको छ । दसैँका लागि आएका पाँच सय कन्टेनरभन्दा बढी रेडिमेड सामान चिनियाँ क्षेत्रमा छन् । धमाधम जाँचपास गरेर नेपाल पठाउनुपर्ने कन्टेनरलाई चिनियाँ क्षेत्रमा गोदामको व्यवस्था गरिएको छ । खासा भन्सारले विद्युतीय गाडी जाँचपासलाई प्राथमिकता दिँदा फलफूलजन्य सामग्री गोदाममै कुहिने अवस्थामा पुगेको कतिपय व्यवसायीले आरोप लगाएका छन् ।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले सडकको दुरावस्थाले राजस्व संकलनमा गम्भीर असर गरेको बताए । उनका अनुसार दैनिक ६ करोड राजस्व उठ्ने गरेकोमा नौ दिनयता दैनिक ५० लाख मात्रै संकलन भएको उनले बताए । नेपाल–चीनको प्रमुख व्यापारिक नाकाहरू रसुवा बन्द हुनु र तातोपानी नाका नियमित नहुँदा दुई देशबीचको व्यापार प्रभावित भइरहेको छ ।

