बहुकला र संस्कृति झल्कने हेलम्बु गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास
साउन १५ (२०८२), किउल । बहु कला र संस्कृति झल्कने हेलम्बु गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास सम्पन्न भएको छ ।
बिहिबार एक उक्त भवनको शिल्यान्यास पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा, उपाध्यक्ष अप्सरा लामिछाने लगाएतले संयुक्त रुपमा गरेका हुन । गाउँपालिकाको वडा नम्बर २ अन्र्तगत ढोडेनीमा बन्न लागेको बहुप्रतीक्षित प्रशासकीय भवन सम्भवत १० स्थानीय तहमध्येकै पहिलो भवन बन्ने भएको छ । १२ पालिकामध्ये बाह्रबिसे नगरपालिका र सुनकोशी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तत्कालको लागि टरेको छ । प्यागोडाशैली तथा विभिन्न जातजातिको कला संस्कृति झल्कने गरी भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । 
गाउँपालिकाले एक रुपैयाँ पनि खर्च नगरी ५५ रोपनी जग्गा आफ्नो नाममा ल्याएर भवनको शिलन्यास थालिनु ऐतिहासिक उपलब्धि भएको गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले प्रतिक्रिया दिईन ।

गाउँपालिका भवन बन्न अनिश्चित बनेको हेलम्बु गाउँपालिको प्रशासकीय भवन बन्न केही समय अघि मात्र बाटो खुलेको थियो ।
खानेपानी मन्त्रालयले श्रोत सुनिश्चिता तथा खर्च व्यवस्थापन गरेसंगै ८ बर्ष सम्म नबनेको प्रशासकीय भवन बन्ने निश्चित भएको थियो ।

गाउँपालिकाले तयार गरेको डिपिआर अनुसार बहुबर्षीय ठेक्का रहनेगरी उक्त भवनको १९ करोड ९१ लाख ९१ हजारको श्रोत सुनिश्चताको लागि अर्थमन्त्रालयमा पठाईएको थियो । जसमा नेपाल सरकारबाट १४ करोड २३ लाख माथि ठेक्का लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार उक्त भवन १८ महिनामा निर्माण सम्पन्न हुनेगरी काम थालिने छ । बिरशान्ती निर्माण सेवा प्रा.लीले २२ करोड लागतमा बन्ने भवनलाई १४ करोड २३ लाख ७६ हजार ५ सय ७१ रुपैंयामा ठेक्का लगाएको हो । कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





