काजीलाई राताे कार्पेट विछ्याउने सीडीओ थापाको एकबर्ष नपुग्दै सरुवा

साउन १२ (२०८२), चाैतारा । भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित सांसद मोहन बहादुर बस्नेतलाई कार्यक्रमको प्रमुख अतिथि बनाएपछि विवादमा परेका सिन्धुपाल्चोकका सीडीओ किरण थापा सरूवा भएका छन् ।

गत साल भदाै ३० मा सिडिओ भएर सिन्धुपाल्चोक आएका प्रजिअ थापा एकबर्ष नपुग्दै गृहमन्त्रालय तानिएका छन् ।
उनको ठाउँमा बन्धु बास्तोलालाई खटाइएको छ । गत असार ३२ गते जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अरनिको राजमार्गमा बाढीपहिरोबाट हुनसक्ने क्षति र तातोपानी नाकाको सम्भावित सुरक्षा जोखिमबारे छलफल कार्यक्रममा थापाले बस्नेतलाई ‘राताे कार्पेट’ बिछ्याएर प्रमुख अतिथिको सम्मान गरेकाे भन्दै उनकाे शैलिप्रति चाैतर्फी आलाेचना भएकाे थियाे ।

भ्रष्टाचार मुद्दामा मुछिएका बस्नेतलाई अख्तियारकै प्रतिनिधिले प्रमुख अतिथि बनाएको भन्दै सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले संसदमा समेत यो विषय उठाएर गृहमन्त्रीको जवाफ मागेका थिए । चौतर्फी दबाबपछि गृहमन्त्री रमेश लेखकले थापाको सरुवा गरेकाे स्राेतकाे दावी छ ।