सिन्धुपाल्चोक अदालतमा ६ बर्ष यताकै उच्च लगत फछर्यौट
निर्मल बस्नेत
साउन १ (२०८२), जिल्ला अदालत सिन्धुपाल्चोकले विगत ६ बर्ष यताकै उच्च लगत फछ्यौट गरेको तथ्य सार्वजनिक गरेको छ । ६ बर्षअघि ५३ प्रतिशत थियो भने गएको आर्थिक बर्षमा ८१ प्रतिशत ८१.४ प्रतिशत लगत फछर्यौट गर्न सफल भएको छ ।
सिन्धुपाल्चोक जिल्लाका क्रियाशिल पत्रकारहरुसामु अदालतले बुधबार अर्थात आर्थिक बर्ष २०८१÷०८२ को अन्तिम दिन उक्त तथ्य अदालतले सार्वजनिक गरेको हो । अघिल्लो वर्षको जिम्मेवारी र अनुमानित नयाँ दर्ता १०७१ गरेकोमा यथार्त लगत १०५५, फछर्यौट लक्ष्य ६९८, यथार्त फछर्यौट ८५५ गरि फछर्यौट लक्ष्यको ६५ प्रतिशत र यथार्त ८१.०४ प्रतिशत फछर्यौट गरेको छ । यो ६ बर्षकै उच्च हो ।
मुद्दा फछ्र्योटको प्रतिशत २०७६÷०७७ मा ५५ प्रतिशत, २०७७÷०७८ मा ४०.११ प्रतिशत, २०७८÷०७९ मा ५९.६२ प्रतिशत, २०७९÷०८० मा ६७.३० प्रतिशत र ०८०÷०८१ मा ७३.०३ प्रतिशत रहेको छ ।
देवानी प्रकृतिका मुद्दामा सम्वन्ध बिच्छेद र फौजदारी मुद्दामा बलत्कारका उजुरीहरु बढी दर्ता हुने गरेको जिल्ला न्यायधिश भगवती शर्मा घिमिरेले बताइन् ।
यस्तै प्रकृतिका ११ मुद्दा सर्त पालना गर्ने शर्तमा स्थगन भएका छन् भने ११ वर्षदेखि १७ वर्ष सम्मका बालबालिका प्रतिवादी रहेका जबरजस्ती करणीका ९ मुद्दामा यस वर्ष फैसला भइसकेको अदालतका सूचना अधिकारी सुवासचन्द्र दाहालले जानकारी दिए । उनले भने, ‘यी मुद्दामा अधिकांश बालकले मोबाइलमा अश्लील पोर्न सामग्री हेरेर हाडनाताभित्रका बालिकाहरूमाथि दुव्र्यवहार गर्ने गरेको पाइन्छ ।’
एक समय मानव बेचविखनको जिल्लाको रुपमा चर्चा पाएको सिन्धुपाल्चोकले उक्त रेकर्ड तोड्दै आएको छ । अदालतले अघिल्लो बर्ष मानव बेचविखनको घट्ना नभएको भनि विवरण प्रस्तुत गरेको थियो भने पुरानो केस भने फैसला कार्यन्वयनको सिलसिलामा रहेको जानकारी गराएको थियो । उक्त सबालमा ०८१÷०८२ मा फैसला गरेको अर्को घटनामा, वि.सं. २०४९ मा पाँचपोखरी थाङपालकी एक महिलालाई आफ्नै सानुबुबा र सानीआमाले काठमाडौँ हुँदै भारतमा बेचिदिएका थिए । ती महिला २०५१ मा नेपाल फर्किएर जाहेरी गरेकी थिइन् । २०५५ मा मृत्यु हुनुअघि उनले न्यायका लागि संघर्ष गरिन् । तीन दशकपछि अदालतले दोषीलाई २० वर्षको कैद सजाय सुनाएको छ । यो वर्ष जिल्लामा रहेको तीनवटा मानव बेचबिखनका मुद्दामध्ये दुई फछ्र्योट भइसकेका छन् भने एउटा अझै बाँकी रहेको अदालतले जनाएको छ ।
सम्बन्ध विच्छेदका घटना बढ्दै
सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेदका मुद्दा बर्षेनी बढ्दै गएका छन् । यस वर्ष मात्रै ५ सय १० वटा दर्ता भएकोमा अदालतले ४ सय ४१ वटा सम्बन्ध विच्छेदका मुद्दामा फैसला गरेको छ । न्यायाधीश घिमिरेले सम्बन्ध विच्छेदका घटनाले पक्षहरुले बालबालिकाको भविष्यको ख्याल ध्यान नगरेकोप्रति चिन्ता व्यक्त गरिन् । यो घट्ना बढ्दै जाँदा वालवालिकामा सामाजिक घुलमिलमा गम्भीर असर पर्ने उनले बताईन् ।
जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष ०८१÷०८२ मा १०५४ मुद्दामध्ये ७३.०३ प्रतिशत मुद्दा फछ्र्योट गर्दै न्याय सम्पादनमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । अदालतले २ वर्ष, १८ महिना नाघेका तथा बालबालिका प्रतिवादी भएका मुद्दा शून्य बनाएको छ भने १ वर्ष नाघेका मुद्दा ११ मात्र बाँकी रहेका छन् ।
फैसला कार्यान्वयनतर्फ, अदालतले १ करोड ४९ लाख ७१ हजार १२ रुपैयाँ नगद असुली गरेको छ । असुली बाँकीमा अधिकांश विदेशी नागरिकको भएको अदालतले जनाएको छ ।

