बलेफी गाउँपालिकाको ५ नम्बर वडा जिल्लाकै चाैथाे बालमैत्री वडा घोषणा


दिनेश दुलाल
शुक्रबार, असार २०, २०८२

वलेफी – जिल्लाकाे बलेफी गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार विशेष कार्यक्रम बिच घाेषणा गरिएकाे बालमैत्री वडा सिन्धुपाल्चाेक जिल्लाकै चाैथाे वडा भएकाे छ ।

वडा नम्बर ५ वडाअध्यक्ष यादव ठकुरीकाे अध्यक्षतामा उक्त वडामा भएकाे बाल विवाह मुक्त, बालश्रम मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा समाराेहकाे जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न
हाे ।
‘बालबालिकामा गरेको लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रेष्ठले वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गरेका थिए ।

बालमैत्री वडा घोषणा गर्दै समन्वय प्रमुख श्रेष्ठले बाल विवाह मुक्त, बालश्रम मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा मापदण्ड अनुसार भएकाेले त्यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्न पर्नेमा जाेड दिए । कार्यक्रमका विशेष अतिथि बेलफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले वडालाई बालैत्री वडा घाेषणा गर्नु अघि अनुगमन गरेर साेही अाधारमा घाेषणा गर्ने वातावरण बनेकाे बताए ।

वडा नम्बर ५ का अध्यक्ष यादव ठकुरीका अनुसार, विद्यालय उमेरका सबै बालबालिका विद्यालय भर्ना भएका छन्, बालविवाह तथा बालश्रम पूर्ण रूपमा अन्त्य गरिएको छ, सबै बालबालिकाले खोप पाएका छन्, र बालमैत्री पूर्वाधारको व्यवस्था गरिएका छन् । यी लगायत ५१ वटा सूचक मध्ये अधिकांश सूचकमा अपेक्षित मापदण्ड पुरा गरेपछि वडाले बालमैत्री मान्यता प्राप्त गरेको हो ।

वडाले २०७९ साल पुस १६ गतेदेखि बालमैत्री घोषणाका लागि पाँच चरणको २८ वटा तहगत कार्यसूची निर्माण गरी सघन कार्यान्वयन सुरु गरेको थियो ।

हाल वडामा १८ वर्षमुनिका ८ सय ८६ जना बालबालिका रहेका छन्। पालिकाभर १२ वटा बाल समूह, एक वटा सञ्जाल तथा विभिन्न संरचनागत समितिमा २ सय ३९ जना बालबालिकाको सक्रिय सहभागिता रहेको वडाले जनाएको छ।
पूर्ण खोप, खुल्ला दिसामुक्त र पूर्ण साक्षरता घोषणा भइसकेको यस वडाले, नेपाल सरकारद्वारा तोकिएको ५१ वटा सूचक मध्ये ३८ वटा सूचकमा सय प्रतिशत र १३ वटा सूचकमा ९५ देखि ९७ प्रतिशतसम्मको उपलब्धि हासिल गरेको वडा अध्यक्ष ठकुरीको भनाइ छ ।

यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–१३ नम्बर वडा पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो। त्यस्तै सो नगरपालिकाको वडा नम्बर ७ र मेलम्ची नगरपालिका–७ दुवाचौर समेत बालमैत्री वडाको रूपमा पहिचान भइसकेका छन्।