
जनताको दैलोमा सेवा, स्वदेशमै समृद्धि ल्याउने जुगल गाउँपालिकाको संकल्प

असार १०, (२०८२) ढाँडे । ‘जनताको दैलोमा सेवा, स्वदेशमै समृद्धि’ ल्याउने संकल्प सहित जुगल गाउँपालिकाले गाउँसभाको १८औं अधिबेशन सम्पन्न गरेको छ ।
सामजिक न्यायसहितको समृद्ध जुगल बनाउने अठोटका साथ लागि परेको बताएको सो पालिकाले जनप्रतिनिधि स्वयं गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने लोकप्रिय जनमैत्री काम अघि सारेको छ । ‘दुरदर्शी सोच र दक्ष उद्यमशीलता’ लाई मार्गदर्शक सिद्धान्त बनाउँदै जुगल गाउँपालिकाले सभ्य र भव्य रुपमा गाउँ सभाको १८औं अधिवेशन सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङवोले बताए ।
अध्यक्ष रेशम स्याङ्बोका अनुसार आगामी नीति तथा कार्यक्रममा निःशुल्क शिक्षा, गुणस्तरीयतासहित पूर्वाधार निर्माणलाई जोड दिइएको छ । आफ्नो नेतृत्वमा हालै गरिएको एक ‘शैक्षिक खोज अभियान’ले केही विकट गाउँहरूमा अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचबाहिर रहेको देखिएको र त्यसलाई जोड दिएको उनले बताए ।
उनका अनुसार जुगल गाउँपालिकाको माथिल्लो तिलुमाराङ गाउँबस्तीमा २० परिवार बसोबास गर्छन् । यहाँबाट विद्यालय रहेको सञ्चगाउँ आइपुग्न चार घण्टा जंगलको बाटो हिँड्नुपर्ने बाध्यता, बाघ भालुको त्रास र भाषिक अवरोधले बालबालिकाहरू विद्यालयबाट टाढा छन् । ‘कतिपयले त नेपाली भाषा नै बुझ्दैनन’, उनले भने । गाउँपालिका कार्यालयले विशेष पहल गर्दै यहाँका १७ बालबालिकालाई चनौटेस्थित रत्नराज्य माविमा भर्ना गराएको उनले बताए । शिक्षादेखि बसोबास र खानपानसम्मको सम्पूर्ण खर्च पालिकाले व्यहोर्दै आएको उनको कथन छ ।
मंगलबार पालिकाको सभाहलमा भएको गाउँसभाको १८औं अधिबेशनमा आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट पालिका उपाध्यक्ष हिमाल श्रेष्ठले पस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रमा पर्यटन प्रर्वद्वनलाई विशेष प्राथमिकता दिएर स्वदेशी तथा विदेशी पर्यटकहरुलाई जुगल हिमालप्रति आकर्षित गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याएको छ । साथसाथै गाउँपालिकाले सिन्धुर्चेमा सबैभन्दा ठूलो बुद्वको मुर्ति तथा मन्जुश्री पार्क लगाएत महत्वकाँक्षी बहुबर्षीय योजनाहरुलाई समेत प्राथमिकतामा राखेको छ । जनताको आर्थिक जीवनस्तर उठाउन कृषि, पशु, व्यापार व्यवसाय लगाएत रोजगार मुलक कार्यक्रमलाई समेत पालिकाले विशेष महत्व दिएको जनाएको छ ।