
हेलम्बु गाउँपालिकाद्वारा चट्याङबाट बच्न सुरक्षा प्रणालीको अनुसन्धान

१२ बैशाख (२०८२), किउल । हेलम्बु गाउँपालिकाको आफ्नो गाउँपालिका भित्र चट्याङको जोखिम निराकरण गर्ने उद्देश्यले विस्तृत फिल्ड भ्रमण सहितको विस्तृत अध्ययन अनुसन्धान गरेको छ ।
अध्ययन टोलिको नेतृत्व चट्याङ विज्ञ डा. श्री राम शर्माले गर्नु भएको थियो । टोलिमा हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पा, विपद तथा बहुप्रकोपमा आधारित पूर्वसुचना प्रणाली विज्ञ ई. मिनेश गुरुङ, विपद जोखिम न्यूनीकरण फोकल पर्सन हरिबहादुर श्रेष्ठ, बाढि पुर्वसुचना प्रणाली परियोजनाका कर्मचारी श्यामसुन्दर लामिछानेको सहभागी रहेको थियो ।
गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार प्रारम्भिक चरणमा गरिएको अध्ययन पश्चात् गाउँपालिका भरी चट्याङको जोखिमलाई निराकरण गर्नको चट्याङ सुरक्षा प्रणाली विकास गरिने भएको हो । ‘चट्याङ नियन्त्रण मापदण्डको आधारमा डिजाइन तयार र विज्ञहरुको प्रत्यक्ष निगरानीमा चट्याङ सुरक्षा प्रणाली निर्माण गरिन्छ’, अध्यक्ष शेर्पाले भने ।
विद्यालय, स्वास्थ्यचौकी तथा अस्पताल, सरकारी तथा गैर सहकारी संस्थाका कार्यालयहरु र जनतालाई समेत चट्याङको पूर्वसूचना प्राप्त हुनेगरी चट्याङ सुरक्षा प्रणाली ‘साईरन’ को कसरी प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ भनेर अध्यायन भएको उनले बताए । ‘चट्याङ पर्ने कुनै विद्यालय वा अग्लो ठाउँमा र निश्चित भूगोलमा भन्ने कुरा होईन रहेछ, जाहाँसुकै पनि पर्ने रहेछ’, अध्यक्ष शेर्पाले भने, ‘हामी सबै क्षेत्रहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर उपाएको खोजी गर्दैछौं ।’ उनका अनुसार पालिकाले चट्याङ विशेषज्ञ नै बोलाएर अनुसन्धान गरिएको थियो । सरकारी तथा व्यक्तिको घर निर्माण गर्नुपूर्व चट्याङ प्रतिरोधि घर निर्माण गर्न सक्ने भएकोले यो अभियान पालिकाले प्रत्येक बस्तीमा लैजाने उनले जानकारी दिए ।
फिल्ड अध्ययन पश्चात् हेलम्बु गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरुलाई चट्याङ सम्बन्धि अभिमुखिकरण गरिएको थियो । तत्पश्चात अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । हेलम्बु गाउँपालिकाले चट्याङ प्रतिरोधी संरचना निर्माण मापदण्ड तयार गरि निति कार्यक्रममा समावेश गरिने र भौतिक संरचनाहरु चट्याङ प्रतिरोध मापदण्डका आधारमा निर्माण गरिने जानकारि प्रमुख शेर्पाले गराए । व्यक्तिगत तथा सार्वजनिक भवन तथा स्थानहरूमा चट्याङ जोखिम पहिचान गरि चट्याङ प्रतिरोध गर्न साईरन लगाएतका सुरक्षा कार्यहरु गरिने उनले बताए ।
स्मरण सिन्धुपाल्चोक जिल्लामा रहेको जिल्ला विपद व्यवस्थापन समितिले विपदजन्य घटनाहरुको पूर्व अभ्यासको लागि चट्याङ सम्बन्धी घटनालाई प्राथमिकता दिएको देखिदैन । चट्याङबाट बर्षेनी नेपालमा सयौंको ज्यान जाने गरेको छ ।