चौतारा साँगाचोकगढी नगरपालिकालाई राष्ट्रपति रनिङ सिल्डको उपाधि

२६ चैत्र, चौतारा । जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ । सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजना चौताराको टुँडिखेलमा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जितेको हो ।

त्यस्तै १० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका द्वितीय र ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथ भोटेकोशी गाँउपालिका तृतीय भएको छ । सिन्धुपाल्चोकमा १२ पालीकामध्ये ७ पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भाग लिएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले बताए ।

उनका अनुसार त्रिपुरासुन्दरी, पाँचपोखरी, लिसंखुपाखर र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएनन् । त्यस्तै सुनकोशी गाउँपालिकाले यो वर्ष पालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितानै गरेन । प्रतियोगितामा तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कपर्दीमा गरी ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

खेलाडीहरुलाई पुरस्कार बाडँदै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले स्थानीय सरकारले समेत खेल र खेलाडीको विकासका लागि विभिन्न योजना अघि बढाएको बताए ।