पिस्करमा बन्दै गरेको थामी संग्रालय ८ बर्ष देखि अलपत्र

दिनेश दुलाल
मंसिर १४, पिस्कर । सिन्धुपाल्चोकको सहिद भूमि पिस्करमा निर्माणधिन थामी संग्रालय ८ बर्ष देखि अलपत्र परेको छ । थामी संग्रालय त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करमा बसोवास रहेको सिमान्तकृत जाति हो थामी समुदाय । सहिद भूमिले परिचित ऐतिहासिक ठाउँ भएकोले यसै जातिको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले पिस्करमा थामी जातिको संग्रहालय निर्माण सुरु गरिएपनि बजेटका कारण यो योजना अलपत्र परेको छ ।


पिस्कर क्षेत्रमा बसोवास गरेका थामी जातिको कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २०७३ सालबाट संग्रहालय निर्माण सुरु भएको थियो । २०७४ साल भन्दा अगाडी राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायण पाण्डेले ३ लाख बजेट हालेर सुरुवात गरेको हो । त्यस्तै २०७४ को चुनाव पछि वडाबाट ५ लाख भोटोले थामीले थालेका थिए । प्रदेशबाट २० लाख, गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले २०, अग्नि सापोटाको सांसदविकास कोषबाट ५० लाख हालेका थिए । त्यस्तै तत्कालिन वन तथा पर्यटनमन्त्री अरुण नेपालले ३५ लाख गरेर एककरोड ३३ लाख खर्च भएको वडा अध्यक्ष विजय गुभाजूले जानकारी दिए । उनका अनुसार संग्रालयको भवन बन्यो, गेट बन्यो, अरुको भित्रको संरचना केही बनेको छैन । गत चालु आर्थिक वर्षमा भने सो भवनको लागि कुनै पनि योजना पर्न सकेन । जस कारण योजना अलपत्र बनेको छ । विभिन्न सरकार परिवर्तनको असर तथा एउटा सरकारले अर्को सरकारले गदै आएको कामलाई निरन्तरता नदिँदा थामी जातिको निर्माणाधिन संग्रहालय अलपत्र बन्न पुग्यो ।

अब निर्माण सम्पन्न गर्न ५० लाख खर्च लाग्ने भएपनि यस आर्थिक बर्षमा १ नम्बर प्रतिनिधिसभा सदस्य माधव सापकोटाबाट १२ लाख मात्र बजेट परेको वडाअध्यक्ष गुभाजूले बताए । उक्त रकमले संग्रालयको घेराबार लगाउन पुग्ने उनले बताए । गाउँपालिकाबाट भने कुनै बजेट पार्न नसकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाईबाले सिन्धुज्वालालाई बताए ।

स्मरण रहोस २०४० साल पुस ३० गते तत्कालीन नेकपा (माले)को राजनीतिक गतिविधिको केन्द्रविन्दूमा थियो पिस्कर। मार्क्सवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाहरूको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमले पञ्चायती शासकको मुटु थर्काएको थियो। देवीजंग पाण्डे लगायत स्थानीय सामन्त र निरंकुश पञ्चायती व्यवस्थामाथि धक्का दिएको थियो पिस्करले।

तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्तता र जागरणका कारण पञ्चायत र तानाशाही प्रशासन तथा सरकारले आफ्नो वर्चश्वलाई जोगाइराख्न सुनियोजित ढङ्गले पिस्कर हत्याकाण्डको घटना घटाएका थिए । संक्रान्ति मानेडाँडामा करिब २ सय जनाको नेपाल प्रहरीहरूको जत्थाले न्यायप्रेमी समुदायमाथि अन्धाधुन्ध गोली चलाएका थिए। वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो । घटनामा पल्कमाया थामी (मृत्यु), साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तार भएका थिए । प्रहरी तथा स्थानीय व्यक्तिको आक्रमणबाट दर्जनौं घाइते भएका थिए ।

पिस्कर सिन्धुपाल्चोक जिल्लाको एउटा सानो र विकट गाउँ हो। पञ्चायती शासकहरूले ०४० सालको माघेसंक्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममाथि हिंस्रक दमन गरे। गोलीद्वारा इली थामी र बीरबहादुर थामीको निर्मम हत्या भयो भने जगतबहादुर बोहरा र पाल्कामाया थामी, सोनाम तामाङ सख्त घाइते भएका थिए । पिस्कर हत्याकाण्डको क्रममा अरू ५ जनाले सहादत प्राप्त गरे भने छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायत दर्जनौंले जेलको क्रूरताको सामना गर्नुपरेको थियो भने सयौं जनताले झूटा मुद्दा खेपेर वर्षौंसम्म दुःख पाएका थिए ।