प्रलेसको स्थापना दिवसमा झमक लगाएत स्रष्टाहरु सम्मानित हुँदै
असोज ४, काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७३ औँ स्थापना दिवसको अवसरमा साहित्यकार झमक घिमिरे लगाएत विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् ।
आगामी आश्विन ५ गते पद्मकन्या क्याम्पस डेनिस हलमा दिउँसो १२ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनाल रहने छन् । प्रलेसले दिएको जानकारी अनुसार संघको ७३ औं स्थापना दिवसको अवसरमा पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट झापाका साहित्यकार पुण्य खरेल, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार झमक घिमिरे, प्रलेस युवा पुरस्कार–२०८० बाट साहित्यकार समष्टि बूढा र प्रलेस बाल साहित्य पुरस्कारबाट साहित्यकार नानीमैंया अधिकारीलाई प्रदान गर्न लागिएको संघका अध्यक्ष डा. मधुसुदन गिरीले जानकारी दिए । उनका अनुसार संघको पदाधिकारीको बैठकबाट प्रस्तावित उक्त निर्णयलाई असोज ३–४ गते बसेको संघको सचिवालय र केन्द्रीय समितिले अनुमोदन गरेको हो ।
वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरुलाई संघले सम्मान गर्न लागिएको संघका महासचिव डा.देवी दुलाल क्षेत्रीले जानकारी दिए । स्थापना दिवस सफल पार्न देशभरिबाट लेखक तथा साहित्यकारहरू ५ गते जमघट हुनेछन् ।