झाडीले छोपिदैं सुकुटेमा बन्दै गरेको कभर्डहल, कसैले दिएनन् चासो, सबै रमिते

दिनेश दुलाल
भदौ ११, सुकुटे । चौबिसै घण्टा व्यस्त हुने अरनिको हाईवे । सुकुटे बजारको छेउ, सडकबाट एकसयमिटर माथी लस्करै ५ मिटरको फरकमा फलामे पोल गाडिएका छन् । यि पोल अन्य प्रयोजनका लागि नभई कभर्डहल निर्माणका लागि ठड्याईएका हुन् ।

आज भन्दा ५ बर्ष अघि अर्थात २०७६÷०७७ मा पूर्व सभामुख अग्नि सापकोटाको संसद विकास कोषबाट ५० लाख बजेट परेको थियो । सोही बजेटको टेन्डर भएर निर्माण थालिएको उक्त कभर्ड हलको पोल ठड्याउने, भुँई ढलान र थोरै मेशिनरी वाल बाहेक कुनै प्रगति हुन सकेको छैन् । अलपत्र छाडिएको कभर्डहल झाडिले छोपिएको छ । यहि बाटो भएर राजनैतिक दलका नेता, सांसद तथा मन्त्रीहरु कयौंपटक ओहोरदोहोर गरिसके तर कसैले पनि वास्ता नगरेको स्थानीय बताउँछन् । उसोत स्थानीय सरकारले खासै चासो नदिएको उनीहरुको भनाई छ । अलपत्र छाडिएको कभर्डहलको कन्तविजोग देखेर स्थानीय समेत आजित बनेका छन् ।

सुकुटे युवाक्लवका अध्यक्ष राचन्द्र खड्काका अनुसार उक्त योजनाको लागि ५० लाख बजेट परेपनि गेहेन्द्र लक्ष्मी निर्माण सेवाले ३८ लाखमा टेन्डर पारेर निर्माण व्यवसायी भेषराम सापकोटाले निर्माणको काम थालेका थिए । टेन्डर गरेर बाँकी रहेको रकममध्येबाट ५ लाख सुकुटे युवाक्लवले सम्झौता गरेर कभर्डहलको मेशिनरी वाल निर्माण गरेको खड्का बताउँछन् ।

दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको सरकार हुँदा कबर्ड हल निर्माणको लागि सांसद विकासकोषबाट हालिएको थियो । पार्टी विभाजन भएपनि कतिपटक सरकार फेरीय अनि कति सांसद भए तर कसैले चासो देखाएनन ।
दोस्रोपटक बागमति प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ लाख बजेट परेपनि विवाद हुँदा केहीसमय कामनै रोकिएको थियो । सुकुटे युवा क्लव रहेपनि सोही ठाउँमा सोही कामको लागि बिमल खड्को नेतृत्वमा अर्को जागण युवा क्लव निर्माण भएको जानकारहरु बताउँछन् । बजेट कार्यन्वयनमा हानथाप भएपछि दुवै क्लव बसेर निर्माण समिति बनाएर कबर्ड हलको सोलिङ, भँुई ढलान र घेराबारको लागि मेशिनरी वाल निर्माण गरिएको थियो । कभर्डहल निर्माणको लागि ठड्याईएको फलामको पोल पुरै खियाले खाई सकेको अध्यक्ष रामचन्द्र खड्का बताउँछन् । ६५ लाख राज्यको लगानी गरेको कबर्डहल कन्तविजोग अवस्थामा हुनुमा राजनैतिक खिचातानीमा भएको सुकुटे जागरण युवाक्लवका अध्यक्ष बिमल खड्का बताउँछन् । यसपटक उक्त कभर्डहलको लागि संघ, प्रदेश तथा स्थानीय सरकार कतैबाट बजेट नपरेपनि आगमी बर्ष बजेट पारिने संघीय सांसदबाट आफूलाई आश्वासन पाएको उनले बताए ।

उसोत संघीय सांसद सापकोटाले बजेट हाल्नु अघि सुकुटे युवा क्लवले तत्कालिन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल समक्ष प्रस्तावना पेश गरिएकोमा मुख्यमन्त्री पौडेलले कबर्डहल पूर्ण रुपमा बनाउने बचन दिएको क्लवका अध्यक्ष रामचन्द्र बताउँछन् । तर एउटै पार्टी भएपछि तत्कालिन प्रदेश सांसद सरेश नेपालले बलेफी र संघीय सांसद सापकोटाले सुकुटेको कभर्डहलको लागि सहमति भएको जानकारहरु बताउँछन् । यसबारेमा दुवै दलको आधिकारिक धारणा बाहिर आएको छैन् ।