मुख्यमन्त्री जम्कट्टेलद्वारा चौतारा–बतासे जोड्ने पक्की पुल उदघाटन

दिनेश÷निर्मल
बैशाख १०, चौतारा । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा चौतारा–बतासे जोड्ने पक्की पुलको उदघाटन भएकाे छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–३ मा बनेको नवनिर्मित पक्की पुलको आइतबार मुख्यमन्त्री जम्कट्टेलले उदघाटन गरेका हुन् ।

पुल उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले ग्रामिणको भेगको लागि पुल निर्माणले जनताले उत्पादन गरेका कृषि उपज बजार लैजान, बिमारी अस्पताल पु¥याउन सहज भएको बताए । पुल निर्माण भएसंगै सडकको स्तरोन्नती समेत बागमति प्रदेश सरकारको जिम्मेवारीमा रहेको उनले बताए । पुल निर्माणले सिन्धुपाल्चोकको बिकासमा टेवा पुग्ने मुख्यमन्त्री जम्कट्टेलको भनाई छ ।
नीतिगत केही समस्या भएपनि बागती सरकारले प्रादेशिक सडकको नामाकरण गरेर समान रुपले बजेट व्यवस्थापन गर्ने रणनैतिक योजना बनाएको उनले बताए । समाबेशी ढंगले पहाडी र दुर्गम भु–भागलाई समेट्ने गरि ७ देखि १० बर्षसम्म खोलामा पुल तथा सडक कालोपत्रे गर्दै जाने दुरगामी योजनाको गुरु योजना बनाएको समेत उनले सुनाए ।

शिक्षामा ९–१२ मा नर्सिङसहितको शिक्षालाई अनिवार्य गर्नेगरि उच्च शिक्षा प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै जिल्ला जिल्लामा कृषि शिक्षा लागू गर्न स्थानीय सरकारको भूमिका रहेको औंल्याए । रासायनिक मलको अभावलाई प्रदेश सरकारले कोटा निर्धाण मार्फत एक पालिका एक कृषि पकेट क्षेत्र बनाउने लक्ष्य लिएको समेत बताए । ५० लाख सम्मको स्थानीय सरकार र मझौला योजना प्रदेश सरकारले पुरा गरिने उनले आश्वासन दिए ।

कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र १ का सांसद माधव सापकोटाले रकम र बजेट व्यवस्थापन सहि ढंगले गर्दापनि निर्माण व्यवसायीहरुले समयमा काम नसकेको भनेर आलोचना भईरहँदा उक्त पुल समय अगावै सकेकोमा निर्माण व्यवसायीलाई पुरस्कृत र सम्मान गर्न पुर्वाधार विकास कार्यालयलाई आग्रह गरे । जनताको सम्पति भएकोले यसको संरक्षण गर्ने दायित्व स्थानीयको भएको उनले जोड दिए । खाले ढुंगानाडाँडा एउटा टेलिकमको टावर बनाउने लक्ष्य लिएको उनले सुनाए ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वडाको भौगोलिकतालाई मध्यनजर गरेर खालेको विद्यालयलाई माध्यमिक बनाउन स्वीकृति दिएको र भुस्लुङमा स्वास्थ चौकी निर्माण कार्य भएको बताए । सडकलाई दैनिक सेवाप्रवाहमा जोडेर प्राथमिकता दिईएको बताउँदै नगरप्रमुख सापकोटाले राज्यको साधन स्रोतको व्यवस्थापन गरेर कृषि उत्पादनलाई वृद्वि गर्दै आत्मनिर्भर बनाउनेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले समन्वय र सहकार्य र सहअस्थित्वको लागि राम्रो प्रयत्नको सुरुवाती भएकोमा खुसी व्यक्त गरे । आम नागरिकको राहतको थप कामहरुलाई जोड दिन उनले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए ।

त्यस्तै निर्देशक पुष्कर प्रसाद पोखरेलले निर्माण व्यवसायीले १८ महिना अवधि रहेकोमा ११ महिनामै सम्पन्न गरेकोमा हार्दिक बधाई दिए । कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष टेकबहादुर तामाङले उक्त पुलको लागि २०७६ सालबाट डिपिआर भएपनि यसपटक पुल निर्माण भएपछि नगरको कर्णालीबाट मुक्त भएको प्रतिक्रिया दिए ।

सदरमुकाम चौताराबाट सोही नगरपालिकाको वडा नम्बर २ र ३ नम्बर रहेको बतासे जोडिने उक्त पुलको ३० मिटर लम्बाई ४.८ मिटर चौडाई रहेको छ । भिम निर्माण कन्ट्रक्सनले जिम्मा लिएको उक्त पुल निर्माण अवधि २०८१ मंसिर सम्ममा रहेकोमा समय भन्दा ७ महिना अगवै सम्पन्न भएको हो । ७ करोड ५३ हजारमा टेण्डर भएकोमा ५ करोड ६० लाखमा काम सम्पन्न भएको भिम निर्माण कन्ट्रक्सनले जनाएको छ । उक्त पुल २ सय ३२ टन क्षमताको रहेको छ ।