तल्लो बलेफी हाईड्रोपावर विरुद्व प्रभावित स्थानीय उत्रीए आन्दोलनमा

चैत्र ४, जलबिरे । २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजना विरुद्व स्थानीय प्रभावितहरुले नाराजुलुश गरेका छन् ।
बलेफी गाउँपालिका १–२ तथा चौतारा साँगाचोकगढी नगरपालिका २ नम्बर वडामा पर्ने फलामसाँगुमा ड्याम बनाई बलेफी आँपबोटेमा पावरहाउस बनायर काम सुरु गर्न लागेको तल्लो बलेफी हाईड्रोपावर विरुद्व स्थानीयले नाराजुलुस गरेका छन ।

नौबिसेबाट सुरु भई जलबिरे बजारसम्म बालक, वृद्वा, महिला गरी करिब छ सात सय मान्छे जुलुसमा सहभागी भई हाइड्रो विरुद्ध चर्काे नाराबाजीमा उत्रिएको जलबिरेका स्थानीय काशीराम थापाले जानकारी दिए । उनका अनुसार नाराजुलुसमा सहभागी आक्रोसित भिडले जिल्लाका शिर्षनेताहरुसंग हाईड्रो सञ्चालकहरुले कुरा मिलायर स्थानीय समस्याका बारेमा छलफल गर्न नचाहेको भन्दै उनीहरु आक्रोसित भएका हुन ।

हाईड्रोपावरले प्रभावित स्थानीयको कुनैपनि माग सम्वोधन नगरिएको एक स्थानीयले सिन्धुज्वालासंग दुःखेसो पोखे । प्लेकार्ड बोकेर नाराजुलुसमा उत्रिएका उनीहरुले ‘बस्ती उठाउन पाईदैन खोला सुकाउन दिंदैनौ, हाईड्रोको दक्षिणा लिंदैनौं सुरुङ खन्न दिंदैनौ’ जस्ता चर्का नारा लगाएका थिए । ‘हाईड्रोपावरले हाम्रो माग सम्वोधन नगरे सम्म हाम्रो आन्दोलन रोकिदैन’, नाराजुलुसमा सहभागी एक प्रभावितले सिन्धुज्वालासंग भने । ‘यो भिड कुनै नेताको मासु भातमा बिक्न र कुनै संस्थाले बाँडेको राहत लिन आएको होइन । मेरो बस्ती असुरक्षित नबनाइदेउ, पानीको मूल नसुकाइदेउ, जल, जमिन र वनजंगल नमासिदेउन भन्ने हरूको सानो भिड हो’, त्यहाँका स्थानीय राजिब हमालले आफ्नो फेसबुक मार्फत आक्रोस व्यक्त गरेका छन् ।

यस सन्दर्भमा उक्त हाईड्रोपावरका सञ्चालकहरुसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रभावितको माग र समस्याको बारेमा समेत स्थानीय सरकारको यो समाचार तयार पार्दा समेत कुनै आधिकारिक भनाई आएको छैन ।

२० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजना सबै प्रक्रिया पुरा गरी निर्माणको थालनी सुरु गरिएको आयोजनाले बताएको थियो । उक्त हाईड्रोलाई कुमारी बैङ्क लिमिटेड र साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माणमा लगानी गरेको बताईन्छ । कुमारी बैङ्क र साझा पावर डेभलपमेन्टबिच वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) यसअघि नै सम्पन्न भईसकेको छ । साझा पावार डेभलपमेन्टको तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैङ्कको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए ।
सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिले जनाएको छ ।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको बताईन्छ । जसमा ७५ प्रतिशत कुमारी बैङ्कले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।