सिन्धुपाल्चोकको सेतीदेवी माविका पूर्व प्रअद्वारा ५ लाखको अक्षकोष निर्माण
चैत्र २, चौतारा । जिल्लाको सेतीदेवी मावि ठूलोसिरुवारीका एक पूर्व प्रध्यानध्यापक शिवबहादुर केसीले विद्यालयको लागि ५ लाखको अक्षयकोष निर्माण गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ठूलोसिरुवारीमा रहेको सेतीदेवी माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सब तथा भू.पू. विद्यार्थी पुनर्मिलन समारोहको अवसरमा केसीले ५ लाखको ‘शिव–तारा कोष’ स्थापना गरेर विद्यालयलाई हस्तान्तरण गरेका छन् । एकै व्यक्तिले विद्यालयको कोष निर्माण गर्नको लागि यति ठूलो रकम हस्तान्तरण गरेको सम्भवत पहिलो हो । विद्यालयले शुक्रबार आफ्नो ६३ औं वार्षिकोत्सव कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा तथा १३ नम्बर वडाध्यक्ष रामप्रसाद गौतमको विशेष आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सापकोटाले विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै नगरले शिक्षालाई पहिलो प्राथमिकता राखेर शैक्षिक गुणस्तर उकास्न लागि परेको बताए । ५ लाखको अक्षयकोष निर्माण गर्ने पूर्व प्रअ केसीलाई धन्यवाद समेत दिए । ठूलोसिरुवारीले सुरुवात गरेको शैक्षिक अभियान तथा दिवा खाजा कार्यक्रमले आफू उत्साहित भएको समेत उनले बताए । त्यस्तै विशेष अतिथि वडाध्यक्ष गौतमले शैक्षिक गतिविधिमा नगर भरिका विद्यालयहरु मध्येको ठूलोसिरुवारीले प्रगति हासिल गर्ने ठोकुवा गरे । सडक पूर्वधार लगाएत भौतिक विकासमा जिल्लाकै १०५ वटा वडामध्येको नमुना वडा बनाउन लागेको बताउँदै वडाअध्यक्ष गौतमले दिवा खाजा कार्यक्रममा समेत जिल्लाको नमुना रहेको ठोकुवा गरे ।
कार्यक्रममा हाम्रो जन्मभूमि सामाजिक संस्थाको तर्फबाट कक्षा नर्सरी देखि ५ सम्मका उत्कृष्ट २३ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण भएको विद्यालयका प्रध्यानध्यापक रमेश गौतमले जानकारी दिए । उनका अनुसार कार्यक्रममा २३ जना वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्ने हाम्रो जन्मभूमि सामाजिक संस्थाका अध्यक्ष गीता श्रेष्ठ तथा सचिव सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै आर्थिक अवस्था कमजोर रहेको विद्यार्थीलाई पाँचहजार छात्रवृत्ति उपलब्ध गराउने समाज रूपान्तरण वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक वसन्त श्रेष्ठ र विद्यालयबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने वालवालिकालाई ड्रेसको लागि १५ हजार नगद सहयोग गर्ने दाता ठूलोसिरूवारी साना किसान सहकारी संस्थाका अध्यक्ष होमनाथ चौलागाईं र सुजन थापा, सेतीदेवी कल्याणकारी कोषका चन्दादाताज्यूहरू लगायत लाई विद्यालयले सम्मान गरेको हो । विद्यालयको ६३ औं वार्षिकोत्सव प्रगतिप्रतिवेदन विद्यालयका प्रध्यानध्यापक रमेश गौतमले गरेका थिए । विद्यालयक वालवालिकाहरुले विभिन्न साँस्कृतिक मनोरन्जन प्रदान गरेको उक्त कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।