भोटेकोशी गाउँपालिकाले बालबालिकाहरुलाई विद्यालय बाहिर शून्य पार्ने
चैत्र २, फुलपिङकट्ठी । जिल्लाको भोटेकोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका बालबालिकाहरुलाई विद्यालय बाहिर शून्य पार्ने उदघोष गरेको छ ।
आगामी शैक्षिक सत्र २०८१ देखि १३ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई विद्यालय भन्दा बाहिर शून्य पारि अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने भोटेकोशी गाउँपालिकाको कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । गाउँपालिकाले यस सम्बन्धी सूचना नै जारी गरिसकेकोले सोही बमोजिम विवरण उपलब्ध गराउन उनले आग्रह गरे । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गराउन स्टेशनरी, ड्रेस सहितको आवश्यक व्यवस्था गाउँपालिकाले गर्ने प्रतिवद्धता समेत उनले जनाए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर बस्नेतद्वारा फागुन १८ गते जारी गरिएको सूचनामा उल्लेख गरिएको छ–‘सामाजिक बिकास निर्देशानालय, बागमति प्रदेश र भोटेकोशी गाउँपालिकाको संयुक्त प्रयासमा शैक्षिक सत्र २०८१ देखि अनिवार्य तथा निशुल्क शिक्षा घोषणा (४–१३) बर्षका वालवालिका विद्यालय भन्दा बाहिर शून्य गराउने) कार्यक्रम रहेको हुँदा यस भोटेकोशी गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गरिरहेका ४ बर्ष देखि १३ बर्ष उमेर समुहका वालवालिकाहरु हालसम्म विद्यालय भन्दा बाहिर रहेको भए नजिकको सामुदायिक विद्यालय वा वडा कार्यालयमा २०८० साल फागुन मसान्तभित्र जानकारी गराई यस महत्वपूर्ण कार्यक्रममा सफल पार्न आफ्नो ठाउँबाट सूचना प्रचारप्रुसार गरी दिन हुन सम्पूर्ण भोटेकोशी गाउँपालिकाका नागरिक लगाएत अन्य महानुभावहरुमा हार्दिक अनुरोधका साथै सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’