चौतारा साँगाचोकगढी नगरपालिकाको डेड घण्टाको नगरसभा, अब टुक्रे होइन ठूला योजनामा जोड
दिनेश दुलाल
पौष २६, चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो १५ औं नगरसभा सम्पन्न गरेको छ ।
नगरले आर्थिक वर्ष २०८०÷०८१ को श्रावण १ देखि पौष २५ गते सम्मको उपलब्धीहरुको संक्षिप्त विवरण सहितको नगरसभा नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा बिहिबार सम्पन्न गरेको हो । नगरसभामा प्रस्तुत विवरण प्रति आफ्नो धारणा राख्दै नगरप्रमुख सापकोटाले नगरसभा हुनुभन्दा अघि कार्यापालिकाका सम्पूर्ण सदस्यहरुको एकमतका आधारमा छलफल भएकोले छोटो अवधिमै नगरसभा सौहार्द वातावरणमा सम्पन्न भएकोप्रति प्रशन्न व्यक्त गरे ।
नगरप्रमुख सापकोटाले यसअघि मागमा आधारित योजना रहेको भन्दै त्यसले दिगो विकास नहुने महसुस भएकोले अब बस्तुगत आवश्यकता र तथ्यको आधारमा विभागीय रुपमा ठूला योजना बनाएर रकम वितरण गरिने योजना रहेको सुनाए । यसको लागि सबै कार्यपालिका सदस्यहरुको साथ सहयोग आवश्यक रहेको बताउँदै नगर प्रमुख सापकोटाले भने–‘तपाईहरु कति सघाउनुहुन्छ, त्यतिनै प्रयत्न साथ गर्नेछु’, । ज्ञान, सीप, क्षमता र अनुभव सहितको सुझाब लिएर योजना निर्माण गर्ने उनले सुनाए ।
नगरको सबैभन्दा प्राथमिकता विषय गुणस्तरीय शिक्षा आर्जन सहितको गुणात्मक परिवर्तन आवश्यक रहेको जनाउँदै नगरप्रमुख सापकोटाले दिगो विकासको लक्ष्य सहित समृद्धिको पथमा जाने सुशासनमा प्रभावकारिता ल्याउन जनउत्तदायी बनेर काम गर्ने समेत प्रतिवद्धता जनाए ।
नगरसभामा नगरउपप्रमुख सीता थापाले नगरपालिकाले गरेको अर्धवार्षिक उपलब्धीहरुको संक्षिप्त विवरण प्रस्तुत गरिन ।
नगरको आन्तरिक राजश्व अहिले सम्म ९ करोड ८८ लाख ४५ हजार ७ सय संकलन भएको उनले जनाईन । उनले प्रस्तुत गरेको विवरण अनुसार नगरको वित्तीय प्रगतितर्फ चालु आर्थिक वर्ष २०८०÷०८१ मा एक अर्ब चौविस करोड बाउन्न लाख) विनियोजन भएकोमा ३४ करोड ८१ लाख ५७ हजार ९ सय २० खर्च भएको उल्लेख छ । जुन कुल बजेटको २७.९६ प्रतिशत हुन आउँछ । त्यस्तै पूँजीगत तर्फ ४३ करोड ५८ लाख बीस हजार रहेकोमा २३ करोड ५२ लाख १८ हजार २ सय ८० अर्थात बजेटको १८.८९ प्रतिशत खर्च भएको उल्लेख छ ।
त्यसैगरी चालु तर्फ ८० करोड ९३ लाख ८० हजार बिनियोजन भएकोमा ३८ करोड ८१ लाख २८ हजार ८ सय ४० खर्च भएको उल्लेख छ । जुन कुल बजेटको ३१.१७ प्रतिशत हो ।
नगरपालिकाले यस आर्थिक वर्षमा गरेको भौतिक प्रगति तर्फ नयाँ ट्र«याक निर्माण ३.४४ भएको तथा ३२५.५० किमी सडक स्तर उन्नती कार्य सम्पन्न भएको उल्लेख छ । यस्तै नगरकै योजनामा कुविण्डे खोलामा पक्की पुल, नगरभित्र २ वटा खेल मैदान निर्माण भएको छ भने नगरको गौरबको आयोजना रहेको वडा नम्बर ४ मा शित भण्डार तथा बुद्धपार्क निर्माण भईरहेको उल्लेख छ । यस्तै वडा नम्बर ५ को पुरानो बजारमा रहेको कष्ण मन्दिर पुरातत्व विभागको सहयोगमा निर्माण कार्य सम्पन्न भएको उपप्रमुख थापाले उल्लेख गरिन ।
यसैगरी नगरपालिकाले सुशासन तथा सार्वजनिक सेवा तर्फ स्थानीय तहको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी बनाउँदै सर्वसाधारणलाई छिटो, छरितो सेवा सुविधा दिएको जनाएको छ । उसले योजना तथा कार्यक्रमको भुक्तानी कार्य विद्युतीय भुक्तानी प्रणाली मार्फत समयमै गरिएको, नगरका १४ वटै वडामा रहेको जग्गाहरुको नगरस्तरीय भू–उपयोग परिषदबाट कृषियोग्य र गैर कृषियोग्य जग्गामा वर्गिकरण गरिएको लगाएत कार्यहरु गरिएको जनाएको छ ।
त्यस्तैगरी शिक्षा, युवा तथा खेलकुद तर्फ नगरपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ भने स्वास्थ्य तर्फबाट मातृत्व अनुदान कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य परिक्षण क्लिनिक कार्यक्रम र बालबालिकालाई पोषण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
चालु आ.व २०८०÷०८१ को हाल सम्ममा ११७ वटा उपभमोक्ता समिति, ३ वटा टोल विकास समिति, नयाँ व्यवसाय दर्ता ७७ वटा र ५ वटा संस्थाहरु सूचिकृत भएको उल्लेख छ । त्यस्तै योजना तर्फ वडा तथा नगर स्तरीय योजनाहरु १ सय ७० वटा सम्झौता भएकोमा ५८ योजनाको कार्य सम्पन्न भई भुक्तानीको प्रक्रियामा रहेको नगरपालिकाले एकघर एक करेसाबारी प्रोत्साहन अनुदान कार्यक्रम तथा साना सिंचाई पोखरी निर्माण कार्यक्रम छनौट प्रक्रियामा रहेको जनाएको छ । त्यस्तै खानेपानी तर्फ यस आर्थिक वर्षमा ९ वटा खानेपानी आयोजना निर्माण गरिएको जनाएको छ ।
यस वर्ष न्यायिक तर्फ आ.व २०८० को हालसम्म १४ वटा विवादहरु दर्ता भएकोमा ६ वटा मिलापत्र, ३ वटा विचारधिन र ५ वटा लगत कट्टा गरिएको नगर उपप्रमुख थापाले बताईन ।
नगरपालिकाले लक्षित वर्ग तर्फ अपाङ्गता, महिला, बालबालिका र जेष्ठनागरिकको सन्दर्भमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरिएको जनाएको छ ।
त्यस्तै सूचना प्रविधि तर्फ हरेक वडा र स्वास्थ्य संस्थामा ई–हाजिरी प्रणाली जडान गर्ने कार्य प्रक्रियामा रहेको तथा नगरपालिकाको वेबसाइट र मोबाईल एप मार्फत अनलाईन सुविधाको रुपमा जि.आई.एस घरेलु सूचना प्रणाली र सिफारिस प्रणाली जस्ता सूचना व्यवस्थापन प्रणाली स्थापना गर्ने प्रकृया रहेको जनाएको छ ।
डेडघण्टामा सम्पन्न गरिएको १५ औं नगरसभामा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, नगर सल्लाहकार चन्द्र सापकोटा, १४ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको हो । नगरसभाको सञ्चालन सामाजिक विकास संयोजक तथा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमले गरेका थिए भने ५ नम्बर वडाअध्यक्ष शिव श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।