देशको लागि शैक्षिक जनशक्ति हेलम्बुले उत्पादन गर्ने अध्यक्ष शेर्पाले गरे ठोकुवा

पुस १७, किउल । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले देशको लागि शैक्षिक जनशक्ति हेलम्बुले उत्पादन गर्ने ठोकुवा गरेका छन् ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्नुहुँदै पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा

हेलम्बु गाउँपालिका वडा नम्बर २ किउलमा अवस्थित भूमेस्वरी माध्यमिक विद्यालयको ४९ औं बार्षिक उत्सव, आजीवन सदस्य भेला तथा अभिभावक सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष शेर्पाले उक्त धारणा राखेका हुन् । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा आफु सधैं सकारात्मक रहेको बताउँदै शेर्पाले प्राबिधिक शिक्षालाई गाउँपालिकाले प्राथमिकता राखेको बताए ।

राज्यलाई आवश्यक पर्ने जनशक्ति हेलम्बु गाउँपालिकाले उत्पादन गर्ने गरि योजना बनाएको समेत उनले ठोकुवा गरे । शेर्पाले पढ्ने कुरामा विद्यार्थीलाई कुनैपनि समस्या सिर्जना हुन नहुने बताउँदै एसईईको तयारी गरिरहेका विद्यार्थीहरुबाट कुनैपनि शुल्क नलिन आग्रह गरे । शैक्षिक हिसाबले कुन स्कुल कुन स्थानमा छ भनेर गाउँपालिकाले मुल्यांकन गरिरहेको भन्दै आवश्यक सहजीकरणको लागी गाउँपालिका सधैं तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पेम्बा लामा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनध्वज लामा, मेलम्ची भ्याली क्याम्पस प्रमुख राजन लामिछाने, छिमेकी विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक यमबहादुर जोतीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बार्षिक उत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक जोतीले जानकारी दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।